विश्वकप लिग-२ मा आज नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी युएईको सामना गर्दैछ । दुबईको आईसीसी एकेडेमीमा हुने खेल बिहान ११:१५ बजे शुरू हुनेछ ।

आज हुने खेलमा दुवै टोली जारी सिरिजमा पहिलो जितको खोजीमा हुनेछन् । नेपाल पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले पराजित भएको थियो भने युएईपनि अमेरिकासँगै ४ विकेटले पराजित भएको थियो । पहिलो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपाल आजको खेलमा सुधारिएको प्रदर्शन गर्दै जित निकाल्न चाहन्छ ।

लिगमा १७ खेलबाट १२ अंक जोड्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल सिरिजको बाँकी खेल जित्दै पुनरागमन गर्ने लक्ष्यमा रहेको छ । नेपालले पछिल्लो पाँच खेलमा तीन जित र दुई हारको नतिजा निकालेको छ । यता युएईकोपनि अवस्था एकै रहेको छ । हालसम्म १७ खेलबाट ६ अंक जोडेको युएई पुछारमा रहेको छ । युएईलाई एकदिवसीय मान्यता गुम्ने डरपनि रहेको छ । युएईले आफ्नो पछिल्लो पाँच खेलमा मात्र एक जित निकाल्दा चार खेलमा पराजित भएको छ ।

हाल सम्म एकदिवसीयमा नेपाल र युएई १५ पटक आमने सामने भएका छन् । दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने भएकाले ‘एसोसिएट एल क्लासिको’ नाम दिइने गरिएको छ । हेड-टु-हेडमा भने नेपालले युएईलाई पछि पारेको छ । १५ खेलमा ९ खेल नेपालले जित्दा ६ खेल युएईले जितेको छ ।

दुई टोलीबीचको पछिल्लो सबै पाँच खेलमा नेपालले सतप्रतिशत जित निकालेको छ । पछिल्लो पटक सन् २०२३ मा भएको आईसीसी क्रिकेट विश्वकप छनोटको सातौँ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले युएईलाई ३ विकेटले विजयी भएको थियो । त्यसैले युएई घरेलु मैदानको फाइदा उठाउँदै आजको खेलमा बदला लिने दाउमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *