काठमाडौँ । निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार पहिलो पटक त्रिपक्षीय बैठक आयोजना गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको छ ।
बैठकका विषयमा जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए । सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच छलफल भएको र यस किसिमको छलफललाई निरन्तरता दिइने समझदारी भएको उनले बताए ।
सञ्चारमन्त्री खरेलले भने, ‘यो बैठक औपचारिक रूपमा सरकारकोतर्फबाट पहिलो पटक आयोजना भएको हो । असाध्यै सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ ।’
बैठकमा प्रधानमन्त्री कार्कीले त्रिपक्षीय छलफल सुरुवात भएको र यसलाई निरन्तरता दिइने बताएकी थिइन् । उनले मुलुक बनाउने अभिभारा सबैको रहेको भन्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्रीले त्रिपक्षीय संवादले नयाँ विश्वास र सकारात्मक उर्जा जगाएको बताइन् । उनले भनिन्, ‘आज सरकार, राजनीतिक दलहरू र जेन–जी प्रतिनिधिहरुबीच भएको संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको छ। देशका चुनौतीहरू हामी सबैका साझा हुन्, त्यसैले समाधान पनि साझा प्रयास र निरन्तर संवादबाटै सम्भव हुन्छ । हामी संवादहीनताको अवस्था अन्त्य गर्दै सहकार्य र विश्वासको वातावरण निर्माण गर्न सफल भएका छौं। नयाँ पुस्ता, राजनीतिक दल र सरकार सबैको लक्ष्य एउटै छ– निष्पक्ष, सुरक्षित र समयमै निर्वाचन सम्पन्न गर्नु । भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता प्रति हाम्रो साझा प्रतिबद्धता हो। यही आधारमा हामी स्थिरता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै अगाडि बढ्छौं।’
सञ्चारमन्त्री खरेलका अनुसार बैठकको मुख्य उद्देश्य, निर्वाचन, सुशासन कायम, भ्रष्टाचार नियन्त्रणका साथै जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने सन्दर्भ रहेको थियो । त्यसमा पनि विशेषगरी निर्वाचनका विषयलाई अलि बढी लक्षित गरेर सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच छलफल भई आपसी समझदारी कायम गरेर अबको बाटो कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे सकारात्मक छलफल भएको छ ।
‘त्रिपक्षीय छलफल असाध्यै उपलब्धिपूर्ण रह्यो, सौहार्दपूर्ण रह्यो’, सञ्चारमन्त्री खरेलले भने, ‘खासगरी राजनीतिक दल र जेजनी पुस्ताबीचमा संवादहीनताको अवस्था थियो । औपचारिक रुपमा संवाद हुन सकेको थिएन । अनौपचारिक रूपमा छलफल भए पनि औपचारिक वार्ता हुन सकेको थिएन आज त्यो अवस्थाको अन्त्य भएको छ ।’
जेनजी प्रतिनिधिहरूले उठाएको मुद्दाहरूलाई राज्यले कसरी प्राथमिकता दिएर कार्यान्वयन अगाडि बढाउने भन्नेबारे गहन छलफल भएको छ । उपस्थित राजनीतिक दलका सबै प्रतिनिधि र जेनजी प्रतिनिधिले सकारात्मक रूपमा लिएको र यसले मुलुक अब सहज रूपमा अगाडि बढ्ने सरकारको विश्वास छ ।
सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री खरेलकाअनुसार वार्तामा सहभागी सबै राजनीतिक दलहरुले निर्वाचनप्रति सकारात्मक धारणा राखेका छन् । निर्वाचनको वातावरणका लागि सुरक्षा र स्रोतसाधनलगायतका प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसकोतर्फबाट निर्वाचनका लागि सहयोग गर्ने धारणा आएको छ । नेकपा (माओवादी) को तर्फबाट पनि सकारात्मक कुरा आएको छ ।
नेकपा (एमाले) पनि निर्वाचनमा जान कुनै समस्या नहुने तर त्यसको वातावरण बनाउन सरकारले काम गर्नुपर्ने चासो राखेको र यसलाई सकारात्मक रुपमा लिइएको छ । मन्त्री खरेलले बैठकमा सहभागी अधिकांश राजनीतिक दलले सरकार निर्वाचनका लागि अगाडि बढोस् हाम्रो साथ सहयोग रहने बताए ।
बैठकमा राजनीतिक दलका करिब १५ जना र सोही सङ्ख्यामा जेनजी प्रतिनिधिहरूको सहभागिता थियो । जेनजीका प्रतिनिधिहरूले जेनजी आन्दोलनको क्रममा जेजस्ता माग उठेका छन् । सोहीअनुरूप मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिएका थिए ।
उनीहरूले निर्वाचनकोसमेत समर्थन गर्दै निर्वाचन गर्दैगर्दा सुशासनको सुनिशिचतता र भ्रष्टाचार नियन्त्रलाई पनि सँगै लैजानुपर्ने धारणा राखेका थिए । राजनीतिक दलहरूलाई अझै बढी जिम्मेवार बन्नुपर्छ भन्ने कुरा जेनजीले उठाएका थिए ।
निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गरेको हो । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए । यसबचीमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बन्धित पक्षको भनाइ छ ।
निर्वाचनको तयारीस्वरूप सरकारले सबैखाले काम अगाडि बढाएको छ । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ । आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ ।
