माधव नेपालको राजनीतिक प्रतिवेदनः प्रतिनिधिसभाको विघटन गराउने काम घुसपैठियाहरुको हो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा अध्यक्ष नेपालले आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गराउने घोषणा भएपनि घोषित मितिमा निर्वाचन हुने सुनिश्चित वातावरण नबनेको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘सरकारले निर्वाचनको वातावरण निर्माण गर्न पर्याप्त पहल गरेको छैन । राजनीतिक दलहरूले पनि निर्वाचन केन्द्रित कार्यक्रम अगाडि सारिसकेका छैनन् । परिस्थिति कसरी विकसित हुन्छ भन्ने निश्चित छैन । तथापि, हामीले लामो संघर्ष र बलिदान गरेर प्राप्त गरेका उपलब्धीहरूलाई गुम्न दिनु हुँदैन भन्नेमा फेरि पनि हामी सचेत हुनुपर्दछ ।’

उनले प्रतिनिधिसभाको विघटन गराउने काम घुसपैठियाहरूले गरेको आरोपसमेत लगाएका छन् । अध्यक्ष नेपालले घुसपैठियाहरुले यही मौकामा लोकतन्त्रलाई नै समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

उनले एमालेबाट विद्रोह पार्टीभित्रको आन्तरिक अन्तर्विरोध र वैचारिक सङ्घर्षका कारणले मात्र नगरेको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित केपी ओलीले पार्टी महाधिवेशनबाट पारित गरिएको क्रान्तिकारी कार्यदिशा कार्यान्वयन नगर्नुका साथै पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलतर्फ धकेल्दै लगेपछि पार्टीभित्र गम्भीर मतभेद उत्पन्न भएका थिए र हामीले बारम्बार फरक मत राख्दै वैचारिक सङ्घर्ष चलाएका थियौँ। फरक मत राख्नेहरूप्रति प्रतिशोधपूर्ण व्यवहार गरिएको थियो र हामीले प्रतिवाद गर्नु परेको थियो, जुन काम केपी ओलीले अहिले पनि गरिरहेकै छन् ।’

उनले विद्रोहको पृष्ठभूमिमा वैचारिक सङ्घर्ष र प्रतिवाद पनि भएको जिकिर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *