काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरूकै समर्थनमा सुशीला कार्की प्रधानमन्त्री भएको बताएका छन् ।
बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रातभर राष्ट्रपति निवास शीतलनिवासमा भएको छलफलपछि कार्कीको नाममा सहमति जुटेको बताएका हुन् ।
उनले २५ भदौको राति ९ बजेदेखि बिहान ४ बजेसम्म शीतलनिवासमा छलफल भएको बताए । उनले भने, ‘अहिलेका प्रधानमन्त्री सुशीला कार्की, जेनजीका एक जना प्रतिनिधिले राष्ट्रपति र प्रधानसेनापतिसँग वार्ता गरेका हुन् । वार्ताका सन्देशहरू हामी कहाँ आदनप्रदान भइरहन्थ्यो । हाम्रो कुराहरू पनि वार्तामा पुग्थे । संसद् विघटन गर्ने कि नगर्ने भन्नेमा धेरै बहस भए । कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा कुरा अड्कियो । हामीले सुशीला कार्कीलाई समर्थन जनायौं ।’
उनले देशमा संकट पर्दा राष्ट्रपतिलाई आफूहरूले साथ दिए पनि कांग्रेस–एमालेले भने महत्व नदिएको बताए । उनले संकटको समयमा आफूहरूले गरेको सहयोगबारे राष्ट्रपतिले पनि स्वीकार गरिसकेको बताए ।
अध्यक्ष नेपालले नेकपा एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चेतावनी दिए । उनले भने, ‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’
