अमेरिकी प्रतिबन्धपछि रुसको लुकोइलद्वारा विदेशी सम्पत्ति बेच्ने घोषणा

मस्को । अमेरिकी प्रतिबन्धको दबाबपछि रूसको प्रमुख तेल कम्पनी लुकोइलले आफ्नो अन्तर्राष्ट्रिय सम्पत्ति बेच्ने निर्णय गरेको छ । कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा सम्भावित खरिदकर्ताहरूबाट बोलपत्र माग्ने प्रक्रिया सुरु गरिएको उल्लेख छ ।

रूसी राज्य मिडियाका अनुसार सम्पत्ति बिक्री प्रक्रिया अमेरिकी विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (अमेरिकी ओएफएसी) द्वारा जारी विन्डडाउन इजाजतपत्र अन्तर्गत सञ्चालन गरिनेछ । कम्पनीले भन्यो, “केही राष्ट्रले लुकोइल र यसको सहायक कम्पनीहरूविरुद्ध लगाएका प्रतिबन्धका कारण यो कदम आवश्यक भएको हो ।”

अमेरिकी ओएफएसीले कम्पनीलाई विदेशमा सञ्चालन बन्द गर्न वा अन्यथा भारी जरिवाना भोग्न नोभेम्बर २१ सम्मको समयसीमा दिएको छ । लुकोइलले आवश्यक परे इजाजतपत्र विस्तारका लागि आवेदन दिने योजना रहेको जनाएको छ ।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि तेल र ग्यास कम्पनी रोसनेफ्ट सँगै लुकोइलमाथि प्रतिबन्ध लगाएको घोषणा गरेपछि आएको हो । ट्रम्प प्रशासनले यो कदमलाई ‘युक्रेनमा युद्ध अन्त्य गर्न रूसको गम्भीर प्रतिबद्धताको अभावको परिणाम’ भनेर व्याख्या गरेको थियो ।

अमेरिकी अर्थ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “यी प्रतिबन्धहरूले रूसको ऊर्जा क्षेत्रमा थप दबाब सिर्जना गर्नेछन् र क्रेमलिनको युद्धका लागि राजस्व बढाउने क्षमतालाई कमजोर पार्नेछन् ।”

अर्थमन्त्री स्कट बेसेन्टले भन्नुभयो, “यो युद्ध रोक्ने र तत्काल शान्ति स्थापना गर्ने समय हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न अस्वीकार गरेकाले हामीले क्रेमलिनको युद्ध मेसिनलाई आर्थिक रूपमा पोषण गर्ने दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएका हौँ । आवश्यकता परे थप कारबाही गर्न तयार छौँ ।”

यसै क्रममा, वासिङ्टनले रूसी संस्थाहरूसँग कारोबार गर्ने कम्पनीहरूलाई एक महिनाभित्र सम्बन्ध तोड्न चेतावनी दिएको छ । अन्यथा ती कम्पनीहरूलाई अमेरिकी बैंक, व्यापारी, ढुवानी र बीमा सेवामा पहुँच नदिने चेतावनी दिइएको छ ।

लुकोइल रूस र विदेशमा तेल तथा ग्यासको अन्वेषण, उत्पादन, शोधन, वितरण र विपणनमा संलग्न छ । अमेरिकी अर्थ मन्त्रालयले कम्पनीका सहायकहरूलाई ‘एक्जीक्युटिभ अर्डर १४०२४’ अन्तर्गत रूसको ऊर्जा क्षेत्रमा सञ्चालन गर्ने कारण निर्दिष्ट गरेको छ ।

यी सहायक कम्पनीहरूमा लुकोइल पर्म, लुकोइल वेस्ट साइबेरिया लिमिटेड, लुकोइल कालिनिनग्रादमोर्नेफ्ट, उरालोइल र रूसी इन्नोभेसन इन्धन तथा ऊर्जा कम्पनी समावेश छन् । यिनीहरूले भूगर्भीय अन्वेषणदेखि तेल र ग्यास उत्पादन तथा प्रविधि विकाससम्मका कार्य गर्छन् ।

लुकोइलले भनेको छ, “हामी आफ्नो अन्तर्राष्ट्रिय सम्पत्तिको निरन्तर सञ्चालन सुनिश्चित गर्न प्रतिबद्ध छौँ र शान्तिपूर्ण समाधानका लागि आवश्यक सबै कानूनी बाटो अपनाउनेछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *