काठमाडौँ । सिने उद्योगमा कार्यरत चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कार प्रदान गर्ने प्रचलन विश्वव्यापी रुपमा रहिआएको छ ।
राज्य तथा चलचित्रसम्बद्ध सङ्घसंस्थाहरूले समेत कलाकर्मीलाई हौसला प्रदान गर्न ‘अवार्ड’को व्यवस्था गरेको पाइन्छ । नेपालमा पनि यही उद्देश्यका साथ ‘अवार्ड’को सुरुआत भएको चलचित्रकर्मी एवं अध्यताहरूको भनाइ छ ।
विसं २०४३ मा लायन्स क्लब काठमाडौँले आयोजना गरेको समारोह र प्रदान गरेको सम्मानलाई नेपालको पहिलो चलचित्रसम्बन्धी ‘अवार्ड’ मानिन्छ । उक्त समारोहमा चलचित्र ‘कान्छी’, अभिनेता शिव श्रेष्ठ र अभिनेत्री शर्मिला मल्ललाई सर्वोत्कृष्ट घोषित गरिएको थियो । त्यसपछिका वर्षहरूमा चलचित्र क्षेत्रमा क्रमशः भएको विकास, विस्तार र आकर्षणसँगै व्यावसायिक रुपमा फस्टाउँदै जाँदा ‘अवार्ड’ दिनेक्रम पनि बढ्दै गएको देखिन्छ ।
पछिल्ला वर्षहरूमा नेपालमा पनि विभिन्न नाम र विधामा ‘अवार्ड’ समारोह भइरहेका छन् । त्यसो त चलचित्रबाहेक अन्य विधामा पनि उत्तिकै सङ्ख्यामा ‘अवार्ड’ आयोजना भइरहेकै छन् । तर, यो क्रम बढे पनि प्रतिष्ठा बढाउन नसकेको गुनासो सुनिन्छ । धेरै ‘अवार्ड’ समारोहमा कसले के पाउँदैछ भन्ने अनुमान पहिल्यै लगाउन सकिने अवस्था छ । यो सबैमा लागू नभए पनि अधिकांशमा यस्तो प्रवृत्ति हावी भएको गुनासो सम्बद्ध क्षेत्रबाटै आएको देखिन्छ ।
चलचित्र निर्देशक पुर्नेन्दु झा ‘अवार्ड’ हुनु सकारात्मक भए पनि सङ्ख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।
उनले भने ‘अवार्डले उद्योगलाई चलायमान बनाएको छ, तर व्यावसायिक उपलब्धि हासिल भएकोजस्तो लाग्दैन । प्रतिष्ठित अवार्ड निरन्तर हुनु राम्रो हो, तर विश्वसनीयता भने घट्न दिनुहुँदैन ।’
चलचित्र मनोरञ्जनको माध्यम भए पनि यसको सम्बन्ध देश, अर्थ, समाज र कला–संस्कृतिसँग जोडिन्छ । त्यसैले यससँग सम्बन्धित गतिविधिको चर्चा हुने गर्छ । नेपालमा आयोजना हुने अवार्डहरूमा नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय दीर्घसाधना सम्मान, नेपाल चलचित्र प्राविधिक सङ्घको ‘नेफ्टा अवार्ड’, ‘डिजिटल सिने अवार्ड’, कामना फिल्म अवार्ड, एलजी सिने सर्कल अवार्ड, बक्स अफिस फिल्म अवार्ड लगायत छन् ।
प्रायः अवार्ड नेपालमै आयोजना हुने गरेका छन् भने केही विदेशमा पनि हुन्छन् । नेपाली चलचित्रको बजार विस्तारका लागि केही अवार्ड विदेशमा आयोजना गर्ने गरिन्छ । पछिल्लो वर्षदेखि बेलायतको लन्डन सहरमा नेपाली चलचित्रलाई प्रवद्र्धन गर्ने उदेश्यले ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा)’ आयोजना भइरहेको छ ।
यस्ता, अवार्डले नेपाली चलचित्रको गतिविधि देखाउनुका साथै आकर्षण बढाउने इन्फा अवार्डका संयोजक मनिष कार्कीले बताए । ‘हामीले बेलायतमा नेपाली चलचित्रको बजार बढाउने उद्देश्यले अवार्डको सुरुआत गरेका छौँ । हामीले नेपालबाट कलाकार लगेर त्यहाँ गर्ने अवार्डले थोरै भए पनि बजार बढाउन मदत गरेको, नेपाली चलचित्रलाई प्रवद्र्धन गरेको प्रतिक्रिया हामीले पाएका छौँ । गतिविधि बढेमा त्यसले चलचित्रप्रति पक्कै आकर्षण बढाउँछ’, संयोजक कार्कीले भने ।
उनले इन्फा अवार्डको दोस्रो संस्करण आगामी कात्तिक २९ मा लन्डनमा हुने र नेपालबाट ४० को हाराहारीमा कलाकार सहभागी हुने जानकारी दिए । विदेशमा अवार्ड आयोजना गर्नेक्रम बढेता पनि काठमाडौँबाहेक नेपालकै अन्य सहरमा यस्ता समारोह कम हुन्छन् । कोशी र मधेस प्रदेशका केही स्थानमा नेपाली फिल्म राम्रोसँग प्रदर्शन हुँदैनन् ।
तराईका विराटनगर, जनकपुर, मलङ्गवालगायत सहरमा भोजपुरी चलचित्रको वर्चस्व छ । निर्देशक झाले ती बजारलाई नेपाली चलचित्रमैत्री बनाउन तीनै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।
‘निजी क्षेत्रको प्रयास भए पनि सरकारी भूमिका प्रभावकारी हुनुपर्छ । विदेशमा गरिने अवार्डलाई हाम्रै तराई क्षेत्रस्थित सहरमा गरे बजार र निर्माणमा टेवा पुग्छ’ उनले भने ।
वार्डको सङ्ख्या बढ्दै जाँदा गुणस्तर खस्किएको छ । पहिलेका अवार्डले रौनक ल्याउथे र पाउनेको ‘करिअरमा’ प्रभाव पथ्र्यो । तर, अहिले सकारात्मक सन्देश प्रवाह हुन सकेको छैन । सङख्या बढ्नु नराम्रो होइन, तर गुणस्तर र विश्वसनीयता कायम गर्न नसक्दा अवार्डको विश्वसनीयता गुम्दै गएको छ ।
विश्वभर प्रदान गरिने अवार्डमा विवाद हुनु सामान्य भए पनि ‘ओस्कार’ र ‘कान्स’जस्ता अवार्डको पारदर्शी प्रक्रिया र स्पष्ट मापदण्डका कारण विश्वसनीय देखिन्छ । तर, नेपालमा आयोजकको नियतसहित निर्णायकमण्डलको क्षमता र स्पष्ट मापदण्डको अभावमा ‘अवार्ड’ मर्यादित हुन नसकेको आमचलचित्रकर्मीको भनाइ छ ।
