काठमाडौं । नेपाल बौद्ध महासंघले देशमा धार्मिक तथा सम्प्रदायिक द्वन्द्व निम्त्याउने प्रयत्नमा रहेका केही अराजक तत्त्वहरूले गोन्पा (गुम्बा) तथा विहारहरू विरुद्ध तथ्यहीन, कपोलकल्पित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार विज्ञप्ति जारी गरी महासंघले अराजक तत्वले विभिन्न सञ्चारमाध्यमहरूमार्फत भ्रम फैलाउने अभिव्यक्ति र अन्तरवार्ताहरू दिदै आएको प्रति नेपाल बौद्ध महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले गोन्पाबाट देशको शान्ति, सुरक्षा वा अखण्डतामा खतरा उत्पन्न हुने भनाइ पूर्णतः निराधार र असत्य भएको उल्लेख गरेको छ ।
महासंघले भनेको छ, ‘प्राचीनकालदेखि नै बौद्ध गोन्पा तथा विहारहरू शाक्यमुनि बुद्धले जगत् हितका लागि प्रदान गर्नुभएको आगम र अधिगमको अध्ययन, अध्यापन र अभ्यासका केन्द्रको रूपमा स्थापित रहेका छन् । यी पवित्र स्थलहरू मानवता, करुणा, अहिंसा र परोपकारका शिक्षाबाट प्रेरित शैक्षिक तथा आध्यात्मिक संस्थान हुन् । गोन्पा तथा विहारहरूले कहिल्यै कुनै राष्ट्र वा समुदायको अहित गर्ने कार्य गरेका छैनन्, र भविष्यमा पनि त्यस्तो सम्भावना रहँदैन । शान्ति, एकता र सौहार्द सुदृढ पार्ने उद्देश्यले स्थापित यी केन्द्रहरू विश्वशान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको संवद्र्धनमा निरन्तर समर्पित छन् । अतः गोन्पाबाट देशको शान्ति, सुरक्षा वा अखण्डतामा खतरा उत्पन्न हुने भनाइ पूर्णतः निराधार र असत्य हो ।’
महासंघले तथ्यहीन र गैरजिम्मेवार अभिव्यक्तिहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा नकारात्मक असर पुर्याउन सक्ने भएको सचेत रहनसमेत आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देशमा अशान्ति चाहने केही अराजक व्यक्तिहरूले गोन्पाको वास्तविक उद्देश्य र भूमिकासम्बन्धी जानकारी बिना नै, काठमाडौँ उपत्यकाभित्र रहेका गोन्पाहरू विदेशी राष्ट्रहरूको अखडा बन्दै गएको र त्यहाँ हतियार लुकाइएको जस्ता भ्रामक, उच्छृङ्खल र गैरजिम्मेवार अभिव्यक्तिहरू सार्वजनिक रूपमा दिँदै आएका छन् । यस प्रकारका दुराशयपूर्ण, तथ्यहीन र गैरजिम्मेवार अभिव्यक्तिहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा नकारात्मक असर पुर्याउन सक्ने देखिन्छ ।’
महासंघले यस प्रकारका भ्रामक समाचार र अभिव्यक्तिहरूले समाजमा भ्रम र द्वेष फैलाउने जोखिम बढाएको हुँदा, सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिहरू, कार्यक्रमका प्रस्तोता र अन्तर्वार्ता दिनेहरूमाथि यथाशीघ्र सत्यतथ्य छानबिन गरी आवश्यक कानूनी कारबाही गर्न सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ ।

