काठमाडौं । सशस्त्र प्रहरीले मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लाहरुमा गएरातिदेखि परेको हिमपातका कारण आउन सक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरुलाई सचेत गराउनुकासाथै सावधानी अपनाउन अनुरोध गरेको छ ।
मुस्ताङको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा गएरातिदेखि परेको हिमपात सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाउनुको साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरुलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरेको छ ।
टोलीले यात्रुहरुको सहजताको लागि कोराला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्य समेत गरेको छ । कोराला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाएको हो भने थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन अनुरोध गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
त्यसैगरी मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा गएरातिदेखि परेको हिउँ समेत सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरुलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ ।
यसैगरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरुको सहजीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको छ । सो टोली पदयात्रीहरुको सहजता र सुरक्षाको लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोला भन्दा माथिसम्म पुगेको छ ।









