बाह्य हस्तक्षेपको राग र अलाप–विलाप !

-केशवप्रसाद भट्टराई

१. बाहिरबाट आएका मुसलमान शासकहरूले हिन्दू राजा रजौटाकै सहयोगमा र हिन्दु सैनिकहरूबाट नै अन्य हिन्दू राजा, रजौटा र हिन्दू मन्दिर र अन्य धार्मिक संरचनाहरू माथि आक्रमण गराएका थिए । हिन्दूहरूलाई नै लोभ, लालच, दवाव, प्रभावमा पारेर मुसल्मान बनाए र हिन्दूमाथि आक्रमण गराए –गराइरहे । र हिन्दूहरू माथि सयौँ वर्ष निर्वाध शासन गरे ।

२. इस्ट इण्डिया कम्पनी र पछि ब्रिटिस सरकारले बेलायतबाट फौज ल्याएर भारत माथि शासन गरेको होइन । भारतीयहरूबाट नै खडा भएको सेनाको बलमा भारतमाथि शासन गरे ती भारतीय सेनाको नेतृत्व भने अङ्ग्रेजहरूले गर्दथे।

३. तिब्बतीहरूकै सहयोगमा चिनियाँ सेनाले तिब्बतमाथि नियन्त्रण गर्यो र सिक्किमे नेता र जनताकै अनुमोदनबाट सिक्किमलाई भारतमा मिलाइएको हो ।

४. नेपालमा वाह्य हस्तक्षेपको कथा जति हाले पनि, जति नारा लगाए पनि जति गीत भजनकीर्तन गाए पनि हामीले नै मत दिएर शक्तिशाली बनाएका नेपालका राजनीतिक नेता–कार्यकर्तामार्फत नै वाह्य हस्तक्षेप भित्रिएको हो, भित्रिने गरेको छ र भित्रिइरहन्छ ।

५. आजका अधिकांश राज्यहरू सैन्य विजयबाट, राजनीतिक र कूटनीतिक हस्तक्षेपबाट नै निर्मित भएका र, हराएका र विलय भएका हुन् । र भैरहन्छन् । सक्नेले हस्तक्षेप गर्छन् र गरिरहन्छन्, नेताहरू खरीद बिक्री हुन्छन् –भैरहन्छन् । नत्र दोस्रो विश्वयुद्ध अघिका करिब ७० स्वतन्त्र र अर्ध स्वतन्त्र राज्य आज २०० को संख्यामा पुग्ने थिएनन् । दोस्रो विश्व युद्ध अघिका २५ भन्दा बढी मुलुक आज छैनन् यही अवधिमा करिब डेढ सय नयाँ राज्य आए–हस्तक्षेपबाट नै अधिकांश आए ।

६. अर्को देशमा प्रत्यक्ष सैन्य हस्तक्षेपको ठाउँमा कतै राजनीतिक हस्तक्षेप हुन्छ, कतै रणनीतिक, कतै कूटनीतिक हस्तक्षेप हुन्छ र कतै राष्ट्र सङ्घकै प्रस्ताव, सहयोग, समर्थनमा सैन्य हस्तक्षेप हुन्छ । कुनै देशमा राष्ट्र सङ्घीय शान्ति सेनाको उपस्थिति पनि त लक्ष शान्ति स्थापना भए पनि सिद्धान्तमा बाह्य हस्तक्षेप नै हो र नेपाल पनि त्यस्तो हस्तक्षेपमा संलग्न छ ।

७. त्यसैले बाह्य  हस्तक्षेप भित्राउने आफ्ना नेता र दलहरूलाई भन्न नसक्ने, त्यसको विरोध गर्न नसक्ने अनि अनि हिरो पल्टिन बाह्य हस्तक्षेपको नारा फलाक्नु चरम राजनीतिक कायरता हो । बाह्य हस्तक्षेपले प्रवेश नगर्ने आन्तरिक राजनीतिक, आर्थिक, सामाजिक, रणनीतिक र सैनिक क्षमता छैन, त्यस्तो क्षमता विकास गर्न सकिएन भने बाह्य  हस्तक्षेप हुन्छ । हिजो भयो, आज भयो र भोलि पनि हुनेछ । त्यस्तो हस्तक्षेप हुन नदिने राज्य क्षमता निर्माण गर्न त्यस्तो हस्तक्षेप आमन्त्रण गर्नमा संलग्न विरूद्ध अरू केही गर्न नसकेपनि मतदाताको रूपमा राजनीतिक दलहरूलाई सचेत गराउन र सामाजिक सञ्जालमा विचार प्रवाह गर्न त हामी सर्वसाधारण पनि सक्छौँ नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *