काठमाडौं । त्रिदेशीय महिला अन्तराष्ट्रिय मैत्रीपूर्ण फूटबल अन्तर्गत भएको अन्तिम खेलमा नेपाल विजयी भएको छ । सोमबार बेलुकी भएको खेलमा नेपालले घरेलु टोली भारतलाई २-१ गोलले हराएको हो ।
भारतको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गर्दा भारतको लागि करिश्मा श्रीभोकरले एक गोल फर्काइन् ।
खेलको दोस्रो मिनेटमै डिफेन्सबाट विमला विकले दिएको लङ बललाई सावित्राले नियन्त्रण लिँदै पोस्टको दिशा दिएकी थिइन् । ६३ औँ मिनेटमा सावित्राले फ्रि-किकमा सुन्दर गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । ८१ औँ मिनेटमा करिश्माले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर बाँकी समयमा थप गोल गर्न नसक्दा नेपाल २-१ गोलले विजयी भएको हो ।
जितसँगै नेपालले तीन अंक जोडेको छ । दुवै खेलमा पराजित भारत अंकविहीन बन्दै प्रतियोगिताको अन्त्य गरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल इरानसँग ३-० गोलले पराजित भएको थियो । दुवै खेलमा विजयी इरानले प्रतियोगिता उपाधि जितिसकेको छ ।
