जनकपुरधाम । आज छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ । त्यसका लागि मधेश प्रदेशका विभिन्न जिल्लाका पोखरी तथा नदी किनारमा वर्तालुहरूले पूजाका सामग्री राखेर बसेका छन् ।
व्रतालुहरूले जनकपुरधामका धार्मिक तथा ऐतिहासिक पोखरी तथा नदी किनारा, त्यस्तै वीरगंजको घडीअर्वालगायत विभिन्न जिल्लाका छटघाटहरूमा पूजा सामग्रीहरू सजाएर राखिएका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ । सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसेका छन् ।
दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । छठको मुख्य दिन मधेशका साथै काठमाडौंमा पनि विभिन्न स्थानमा मनाउने गरिएको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत बागमती, नक्खु र विष्णुमती नदी किनारका विभिन्न स्थानमा सजावट गरिएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।
लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा स्थापित भएको छ ।















