एजेन्सी । स्पेनिस लिग ला लोगा अन्तर्गत भएको सिजनको पहिलो ‘एल क्लासिको’मा रियल म्याड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा म्याड्रिडले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको बार्सिलोनालाई २-१ गोलले हराएको हो ।
घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पे र जुड बेल्लिन्घामले समान एक/एक गोल गरेका थिए । बार्सिलोनाको लागि फेर्मिन लोपेजले एक गोल फर्काए । खेलको २२ औँ मिनेटमा बेल्लिन्घामको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए ।
दश मिनेट अगाडि एम्बाप्पेले गरेको गोल भीएआरले अफसाइड घोषित गरेको थियो । ३८ औँ मिनेटमा राशफोर्डको पासमा लोपेजले गोल गर्दै पाहुना टोलीलाई १-१ गोलको बराबरीमा ल्याए । पाँच मिनेटपछि मिलिटाओको पासमा बेल्लिन्घामले गोल गर्दै म्याड्रिडलाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाएका थिए ।
५२ औँ मिनेटमा एम्बाप्पे पेनाल्टीमा चुक्दा म्याड्रिडले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । अन्तिम समयमा खेलमा तनाब सिर्जना हुँदा बार्सिलोनाका पेड्री दुई पहिलो कार्डसहित रातो कार्ड र म्याड्रिडको बेन्चमा रहेका एन्ड्री लुनिनले रातो कार्ड पाएका थिए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-१ गोलले विजयी भएको हो ।
जितसँगै म्याड्रिड १० खेलबाट २७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा यथावत छ ।
