काठमाडौँ । सम्पदा र संस्कृति संरक्षण अभियानकर्मी गणपतिलाल श्रेष्ठले आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सट्टा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएकोमा आपत्ति जनाउँदै मन्त्री पदको जिम्मेवारी अस्वीकार गरेको जानकारी दिएका छन् ।
आइतबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठले झन्डै २४ वर्षदेखि देशको सम्पदा, संस्कृति र सभ्यताको संरक्षण तथा संवर्धनका लागि सङ्घर्ष गर्दै आएका श्रेष्ठले आफू मन्त्री बन्नका लागि कसैको हारगुहार नगरेको बताएका हुन् ।
उनले देशको अहिलेको तरल अवस्था र पर्यटन व्यवसायको खस्किँदो स्थिति तथा संस्कृति संरक्षणमा हुन सक्ने अपूरणीय क्षतिलाई रोक्न आफूले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको बताएका छन् ।
करिब एक महिनाअघि प्रधानमन्त्रीसँग भेट्दा आफूले मार्गचित्र तयार गरेको र आफ्नो विज्ञता, ज्ञान र अनुभव संस्कृति, सम्पदा र पर्यटनको क्षेत्रमा रहेकाले सोही मन्त्रालयको जिम्मेवारी लिने स्पष्ट पारेको उनले जनाएका छन् ।
श्रेष्ठले आफूलाई भनिएको भन्दा फरक मन्त्रालय दिइन थालेपछि अस्वीकार गरेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘एक महिनाअगाडि प्रधानमन्त्रीज्यूले बोलाएर भेट्नुभएको थियो । उहाँको अनुरोधमा मैले पर्यटन क्षेत्रका लागि मार्गचित्र तयार गरेको थिएँ । तर आज बिहान सञ्चारमाध्यममार्फत आफूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको रूपमा प्रस्ताव गरिएको थाहा पाएपछि अस्वीकार गरेको हुँ ।’
मन्त्रालय परिवर्तन भएकोबारे आफूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले नै फोन गरेर ’तपाईंविरुद्ध ठूलो शक्ति लागेको छ । प्रधानमन्त्रीलाई भेट्नुस् भनेको पनि श्रेष्ठले खुलाएका छन् ।


