नेपालको खराब ब्याटिङ, अमेरिकासँग फराकिलो हार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरू भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । आइतबार बेलुकी सम्पन्न खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित भएको हो ।

जितको लागि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमात्र बनाउन सक्यो । नेपालको लागि दीपेन्द्र सिंह एरीले सर्वाधिक ४० रन बनाए । उनले ६० बलमा ३ चौका प्रहार गरे । यस्तै आसिफ शेखले ३७, भिम शार्कीले २९, आरिफ शेखले २० र सोमपाल कामीले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न हर्मित सिंहले ८.१ ओभरमा एक मेडन राख्दै २७ रन दिएर ६ विकेट लिँदा शुभम रान्जानेले दुई र रुशील उगारकरले एक विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रन बनाएको थियो । अमेरिकाको लागि समित पटेल र मिलिन्द कुमारले अर्धसतक बनाए । समितले १ सय बल खेल्दै ९ चौकाको मद्दतमा ७५ रन बनाउँदा मिलिन्दले ७० रन बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै अमेरिकाको लागि साइतेजा मुक्कामल्लले ४२, शुभम रान्जानेले १९, हर्मित सिंहले १६ तर्गा शयन जाहान्गिर र एड्रिस गोउसले ११ रन बनाए ।

नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा ५६ रन दिएर दुई विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह एरीले समान एक/एक विकेट लिए ।

जितसँगै अमेरिका २१ खेलबाट ३० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १७ खेलबाट १२ अंक जोडेको नेपाल सातौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *