काठमाडौँ । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ खुवाएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिस गरेकी थिइन् । तर विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि सुनारको नाम हटाएकी थिइन् । सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका थिए ।
यस्तै, भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको थियो ।
सरकार गठनको डेढ महिनामा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रोपटक विस्तार भएको हो । प्रधानमन्त्री कार्कीसहित अब मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।
