वन संरक्षणमा खुमबहादुरका दुई दशक

 

घोडाघोडी (कैलाली) । कैलाली मुलुकभरि सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामध्ये एक हो । धेरै वन क्षेत्रमध्ये कैलालीको भजनी नगरपालिका–२ मा अवस्थित राधाकृष्ण सामुदायिक वन ४४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

सुन्दर हरियाली, ताल तलैयासँगै स्वच्छ वातावरण रहेको वनले हरेकको मन तान्छ । यहाँ पिकनिक खान, बोटमा चढ्न र प्रकृतिसँगै रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । यही हरियालीबीचमा एउटा अनुहार छ, जसले वन संरक्षणमा दुई दशकभन्दा बढी समय बिताएका छन् ।

राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले दुई दशकभन्दा बढी समय वनको संरक्षण, वनजन्य स्रोतको दिगो व्यवस्थापन र समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । गाउँ, सहरमा मात्र नभएर जिल्लाभरि उनले वन संरक्षणमा पुर्याएको भूमिकाको चर्चा हुने गरेको छ ।

उमेरले ७० वर्ष पार गरिसकेका खुमबहादुरले आफ्नो जीवनलाई प्रकृतिसँगको अनन्त सम्बन्धमा समर्पित गरिसकेका छन् । उनले जीवनको सुरुवातमा ड्राइभरको पेसा अपनाए । करिब २८ वर्षसम्म गाडी चलाएका उनले एक पटक डडेलधुरामा डिभिजन वन कार्यालय प्रमुख (डिएफओ)सँगको यात्राले जीवनको मार्ग बदलेको बताए ।

“यात्रा गरिरहँदा रेडियोमा सामुदायिक वनको चर्चा चलिरहेको थियो । त्यही क्षणमा सामुदायिक वन भनेको के हो ? भनेर प्रश्नमा आएको उत्तरले वन संरक्षणप्रति चासो जागाएको हो”, खुमबहादुरले भने ।

विसं २०५० मा भजनीमा गाउँ विकास समितिमा सामुदायिक वनका लागि सहपाठीलाई निवेदन दर्ता गर्न भनी खुमबहादुर आफ्नो पेसाका लागि भजनी घरबाट धनगढी फर्किए । उनलाई बोलाउन उनका सहपाठी धनगढी पुगेपछि फर्किए । सुरुमा सल्लाहकारका रूपमा संलग्न भए । भजनी क्षेत्रभरिका अन्य वनमा खटिएको अनुभवले उनलाई थप जिम्मेवार र तयार बनायो ।

विसं २०५८ मा खुमबहादुरको पहलमा राधाकृष्ण, पशुपति, माहोन्याल, पूर्वखरौटी, प्रगतिशील र वनदेवी सामुदायिक वन दर्ता भएका थिए । उनी राधाकृष्ण सामुदायिक वनको अध्यक्ष भए, त्यसपछि सुरु भयो खुमबहादुरको वन संरक्षणको यात्रा ।

“गाउँ, टोलटोलमा गएर मानिसलाई वन संरक्षणको महत्त्व बुझाउने काम सजिलो थिएन । धेरैले पहिलो पटक वन संरक्षणको कुरा सुन्ने हुँदा शङ्का देखाउँथे । तर धैर्यता, सरलता र लगनशीलताले विश्वास दिलाउन सके सफल भइँदो रहेछ”, खुमबहादुरले भने ।

विसं २०५६ मा राधाकृष्ण सामुदायिक वनको प्रस्तावित अध्यक्ष भएका उनी २०५८ सालमा वन दर्ता भएपछि हालसम्म अध्यक्ष छन् । “बीचमा दुई जना अध्यक्ष आउनुभएको थियो”, उनले भने, “तर गाउँलेले फेरी मलाई नै अध्यक्ष बनाउनुभयो ।”

खड्काको जीवनमा चुनौती कम थिएनन् । “सङ्कटकालको समयमा, अतिक्रमण हटाएको भन्दै माओवादीले कुटे, मर्यो भनेर छोडिदिए । त्यो दिन मेरो शरीरले सक्दैन जस्तो लाग्यो । सबै भागे तर म भागिनँ । मेरो जिम्मामा वन थियो, त्यसलाई छोड्न सकिनँ”, उनले सम्झिए ।

खुमबहादुरको दिनचर्या घरमा बित्दैन । उनलाई खोज्न परे वनमा जानुपर्छ । बर्सेनि वृक्षारोपण गर्ने, वन क्षेत्रमा निगरानी गर्ने र स्थानीय समुदायलाई वन संरक्षणमा संलग्न गराउने काम उहाँका लागि जीवनको अभिन्न हिस्सा बनेको छ । उनले भने, “म पैसा कमाउन आएको थिएन, मनको सन्तुष्टि पाउन वनसँग जोडिएको हुँ ।”

उनको योगदान केवल राधाकृष्ण सामुदायिक वनमा सीमित छैन । भजनी, लालबोझि, खैलाड, थापापुर र जोशीपुरका गाउँ–टोलमा पनि उनका प्रयासले समुदायलाई वन संरक्षणको महत्त्व बुझाएको छ । अहिले भजनीमा ४३ वटा सामुदायिक वन दर्ता भइसकेका छन् । यसका लागि खुमबहादुरको भूमिका अमूल्य रहेको स्थानीय बताउँछन् । गाउँले उनीसँग धेरै समय जङ्गलमा भेट्छन् । अतिथि आउँदा पनि जङ्गलमै लगेर खुमबहादुर वृक्षारोपण गराएका छन् ।

स्थानीय अर्जुन सोवले भने, “हामीले वन संरक्षणको महत्त्व उहाँबाटै बुझ्यौँ । उहाँ हाम्रो गुरु हो । उहाँ नभए वन यति सुरक्षित हुदैनथ्यो ।” खुमबहादुरले वन संरक्षण र व्यवस्थापनका लागि विभिन्न पाटो अपनाएको उनको बुझाइ छ ।
पानीको स्रोत र माटो संरक्षणका लागि निर्माण गरिएका स–साना बाँध, ढलान र तालले वनलाई अधिक जीवन्त बनाएका छन् । वृक्षारोपणमा मात्र होइन, वन्यजन्तुको संरक्षणमा पनि उनी अघि बढेका छन् । वनमा लोहटिवा ताल छ । तालमा वन्यजन्तु पानी खानका लागि आउने गर्दछन् । ताललाई पर्यापर्यटनसँग पनि जोडिएको छ । जसलाई व्यवस्थापन गरी पिकनिकस्थल, बोटिङ सञ्चालन गरिएको छ । अतिक्रमण हटाइ व्यवस्थापन गरिएको ताल अहिले पर्यटकको नयाँ गन्तव्य बनेको छ । संरक्षणसँगै पर्यापर्यटनलाई अघि बढाइरहेको खुमबहादुरले बताए ।

संरक्षणमा बिताएको उनको जीवनले अन्तरराष्ट्रिय ध्यान पनि खिच्यो । निरन्तर प्रयास र योगदानका कारण उनलाई सन् २००३ मा ‘अब्राहम अवार्ड’ प्रदान गरियो । त्यो पुरस्कारले उनको नाम मात्र होइन, गाउँ र देशलाई पनि गौरवान्वित बनाएको छ । पुरस्कारको दिनको सम्झना गर्दै उनले भने, “त्यो मेरो व्यक्तिगत जित होइन, त्यो त हाम्रो वनको जित हो ।”

खुमबहादुरसँग कुरा गर्दा उनको आँखामा वनप्रतिको माया स्पष्ट देखिन्छ । आज पनि राधाकृष्ण वनमा वृक्षारोपण, वृक्षको सुरक्षा, माटो संरक्षण र वन्यजन्तुको संरक्षणका कार्यक्रम खुमबहादुरको नेतृत्वमा सम्पन्न हुन्छ । उनको उमेर आराम गर्ने भइसकेको छ । उनले भने, “जिन्दगीले मलाई वनसँग बाँधिदियो । जबसम्म सास छ, यो बन्धन छुट्दैन ।”

उनले वन देखाउँदै भने, “पहिले यो ठाउँ रुखविहीन थियो । तर आज हेर्नुस्, सबै फिर्ता आएका छन् ।” उहाँका आँखामा गर्व झल्किन्छ, तर त्यो गर्वमा अहङ्कार छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *