काठमाडौं । गृह मन्त्रालयले देशमा अस्थिरता र अराजकता निम्ताउन चाहने स्वार्थ समूहको घुसपैठ हुन सक्ने भएकाले आन्दोलन र प्रदर्शन नगर्न अपील गरेको छ ।
शनिबार विज्ञप्ति जारी गरी मन्त्रालयले पछिल्ला दिनमा भएका धर्ना, जुलुस र विरोध प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकारमाथि ख्याल राख्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतका हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल् हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवद्र्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ। सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्वोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनैपनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ ।’
मन्त्रालयले धर्ना जुलुस भन्दा वार्तालाई महत्व दिन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरु सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरु समेत सचेत हुनुपर्ने देखिन्छ ।’

