जेनेभा । हमास र इजरायलबीच गाजामा युद्धविराम भएपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयबाट अनलाइन पत्रकार सम्मेलनमा भने, “जे प्रवेश गरिरहेको छ, त्यो पर्याप्त छैन। स्थिति अझै भयावह छ।”
“अमेरिकी मध्यस्थतामा इजरायल र हमासबीच अक्टोबर १० देखि युद्धविराम लागू भएपनि गाजामा भोकमरीको अवस्थामा कुनै कमी आएको छैन किनकी त्यहाँ पर्याप्त खाना छैन,” उनले भने ।
इजरायलले युद्धको क्रममा गाजा पट्टीलाई दिने सहायता बारम्बार बन्द गर्दा गम्भीर मानवीय अवस्थालाई अझ खराब बनाएको थियो। संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनको केही भागमा भोकमरीको अवस्था रहेको जनाएको छ ।
सन् २०२५ को सुरुदेखि गाजामा कुपोषणको प्रभावबाट ४११ जनाको मृत्यु भएको र यसमध्ये १०९ बालबालिका रहेका प्यालेस्टाइन क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले पत्रकारहरूलाई बताए ।
“यी सबै मृत्युहरू रोक्न सकिने थिए,” डब्ल्यूएचओको मानवीय र विपद् कार्यका लागि एकाइ प्रमुख टेरेसा जकारियाले भने ।
“गाजामा छ लाखभन्दा बढी मानिसहरूले हाल ‘खाद्य असुरक्षाको विनाशकारी स्तर’ को सामना गरिरहेका छन्,” उनले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको सम्झौताले प्रति दिन ६०० ट्रकहरू खाद्यान्नलगायत अति आवश्यकीय सामग्री लिएर प्रवेश गर्ने प्रावधान गरेको भएपनि अहिले पनि दैनिक २०० देखि ३०० ट्रकहरू मात्र प्रवेश गरिरहेका छन्।
