काठमाडौं । राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सी अस्थायी रूपमा बन्द गरिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनीका कारण संरचनागत क्षति पुगेपछि होटल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाइएको छ ।
होटल प्रशासनका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने भएकाले बन्द गरिएको हो । सुरक्षाको संवेदनशीलता र जोखिमलाई ध्यानमा राख्दै होटलबाट प्रवाह भइरहेका सम्पूर्ण व्यवसायिक सेवा पूर्ण रूपमा बन्द गरिएको होटल प्रशासनले जनाएको छ ।
होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनले विज्ञप्ति जारी गर्दै हाल होटल पूर्ण रूपमा बन्द रहेको जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘होटलको मर्मत तथा पुनर्निर्माणको कार्य प्रारम्भ गर्नु अपरिहार्य भएको हुँदा अर्को सूचना जारी नभएसम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकहरूलाई होटल परिसरमा उपस्थित नहुन अनुरोध गरिएको छ।’
