प्रचण्डको सचिवालयले भन्यो-पार्टी एकताबारे कुनै टुंगो लागेको छैन, झुटो प्रचार नगरियोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिनसकेको बताएका छन् ।

प्रचण्डको सचिवालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरी वामपन्थी एवं प्रगतिशील समूहहरुबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पुरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरुमा घनिभूत छलफल जारी रहेको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्द राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरुबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पुरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरुमा घनिभूत छलफल जारी छ । यद्दपी कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन । बिभिन्न समयमा नेपाली जनताको अगुवाईमा भएका क्रान्ति र संघर्षहरुलाई रक्षा गर्दै बाँकी कार्यभार पुरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ ।’

सचिवालयले एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक संजाल तथा केही संचार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक संजाल तथा केही संचार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *