अमेरिकामा बास्केटबलका चर्चित खेलाडी र माफिया सदस्य पक्राउ

बीबीसी । सङ्घीय जाँच ब्यूरो एफबीआईले खेलमा अवैध बाजी लगाउने तथा धाँधलीपूर्ण तवरले माफिया मुछिएका ‘पोकर’ खेलमा गरेका अनुसन्धानको सिलसिलामा अमेरिकाको चर्चित बास्केटबल लीग एनबीएका एक खेलाडी तथा कोचसहित दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ ।

मायमी हिट टोलीका खेलाडी टेरी रोजियर तथा पोर्टल्यान्ड ट्रेल ब्लेजर्स टोलीका प्रमुख प्रशिक्षक चन्सी बिलप्सलाई बिहीवार दुई भिन्नाभिन्नै अभियोग लगाइएको छ । ३१ वर्षीय रोजियर र अन्य पाँच जनालाई अवैध बाजीको अभियोग लागेका छ। अभियोग लागेकामध्ये अरू एनबीए खेलाडी पनि छन्।

उनीहरूले बाजीको बजारलाई प्रभावित गर्न घाइते भएको बहाना बनाएको हुन सक्ने आशङ्का गरिएको छ । त्यस्तै ‘हल अफ फेम’मा समेत अङ्कित बिलप्स चाहिँ सन्न्यास लिइसकेका खेलाडीहरू तथा माफिया मुछिएको अवैध पोकर खेलका सन्दर्भमा आरोपित ३१ जनामध्ये एक हुन् ।

उनी सन् २०२१ देखि पोर्टल्यान्ड ट्रेल ब्लेजर्स टोलीको प्रशिक्षक रहँदै आएका थिए । उक्त मामिलामा न्यूयोर्कका पाँच मुख्य आपराधिक माफिया गुटमध्ये चारका सदस्यहरू सामेल रहेको अभियोजनकर्ताहरूले दाबी गरेका छन् ।

पहिल्यै मिलेमतो गरिसकिएको तासको पोकर खेलको जालमा पीडितहरूलाई पार्ने गरिएको र ती खेलमा चर्चित खेलाडीहरूलाई राखिने गरेको उनीहरूको भनाइ छ। त्यस्ता ठगीमार्फत् मानिसहरूको करोडौँ डलर लुट्ने गरिएको बताइएको छ ।

अभियोजनकर्ताहरूका अनुसार त्यसो गर्न उनीहरूले विशेष प्रकारका कन्ट्याक्ट लेन्स तथा चस्माहरू अनि एक्स–रे टेबल सहितका प्रविधिको उपयोग गर्थे। त्यसो गर्दा पहिले नै अङ्कित गरिएका तास चिन्न सघाउ पुग्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *