भदौ २४ लाई ‘अल एक्स्पोज्ड डे’ भनौं

-नारायण पौडेल ।

भदौ २४ लाई अल एक्स्पोज्ड डे भन्न सकिने रहेछ । भदौ २३ मूलतः विद्रोह हो, भदौ २४ मूलतः विध्वंस हो । कुरा शुरु गरौं प्रमुख तीन दलका तीन नेताबाट । तोप पडकाएपनि आफ्नो सत्ताको पत्ता नहल्लिने बताएका थिए तत्कालीन प्रधानमन्त्री केपी ओलीले । पटका पड्किँदा पनि गल्र्याम गुर्लुम्म भैदियो । ओली सुरक्षित रहँदा आइ लभ यू बा भन्नेहरु उनको विपतमा दूला पसे । सिंहदरबारको शक्ति आवरणीय मात्र रहेछ भन्ने पर्दाफास भयो । देउवाको पक्षमा उभिन छिमेकीसमेत आएनन् । अघिपछि ढोकेहरुका कारण मेलोबाटो नपाइने देउवा निवासमा पर्दा काँध थापिदिने कोही भएन । आक्रमणकारीहरु मध्यबाटै उद्दार गरिनु पर्ने गरी लाचार भए देउवा दम्पती । कुनैबेला एक वाक्यमा देश ठप्प पार्न सक्थे प्रचण्ड । उनको नाममा ज्यानको आहुति दिन्थे नौजवान । उनै प्रचण्ड किचिमिची हुनबाट बालबाल बचे, सेनाको शरणमा !

–सबैभन्दा बढी एक्स्पोज भए–बालेन । राजनीतिकरुपमा फ्रेस र निर्विवादजस्तै थिए । विकासप्रेमी छबी थियो । शिक्षकको आन्दोलन हुँदा फूल चुँडिन्छ की भनेर चिन्तित देखिने बालेन विद्यार्थीको आन्दोलनमा आक्रोशलाई उत्प्रेरित गरिरहे । आवेगात्मक उमेरकालाई सडकमा जान उत्साहित मात्र गरेनन् , संवेगात्मक उमेर समूहलाई सहभागी हुनबाट बञ्चित गर्ने भूमिका खेले । परिवर्तनलाई संस्थागत गर्न सकिने अभूतपूर्व अवसरलाई फगत संसद विघटन र चुनावमा सीमित गरिदिए । सेनालाई राजनीति उन्मुख गराउने मोहोरा बने । आज जेडको नाममा आगजनी भयो, भोलि अल्फाका नाममा देश र बालेनहरुमाथि के के हुने हो ?
–एक्स्पोज हुने अर्को पात्र भए– रवि लामिछाने । रवि राजनीतिकरुपमा अपरिपक्व र रणनैतिकरुपमा कच्चा रहेछन् भन्ने एक्स्पोज्ड भयो । कानूनीरुपमा कमजोर पत्रका आडमा गाडीको हुडबाहिर विजयी भावमा निस्किए रवि । अन्यथा पुरानालाई विश्वास गर्न नसकिएको र नयाँ संस्थागत भैनसकेको अवस्थाको भरपूर फाइदा रविलाई हुनेवाला थियो ।

–एक्स्पोज भए संचारमाध्यम । देशकै ठूलो मिडियाले हठात् सम्पादकीय लेखिदियो–बालेनलाई प्रधानमन्त्री बनाउ । आन्दोलनको जगमा संवैधानिक संरचनाभित्रैबाट आमूल परिवर्तन सम्भव छ भन्ने बहस हुनै पाएन । विचार विमर्श र दिशानिर्देश गर्नुपर्ने संचारकर्मी समेत सतही कुरामा रमाएको देखियो । प्रतिगामी स्वर हावी भयो । फलतः आन्दोलनले उपलब्धी संस्थागत गर्न सकिएन, संवैधानिक अस्पष्टता र अनिश्चितता थपिएर गयो ।

–एक्स्पोज भए सुरक्षा निकायका प्रमुखहरु । एकीकृत नेपालभन्दा पूरानो अविछिन्न संस्था हो नेपाली सेना । ऐतिहासिक विरासतसहितको संस्था नेपालीको साझा आस्था पनि हो । तर, सेनाकै मुख्यालय अघि रहेका सर्वोच्व अदालत, सिंहदरवारलगायतका राष्ट्रिय सम्पत्ति स्वाहा पार्न दिइयो । सौताको रिसले पोइको काखमा विष्टा भनेजस्तो ओलीहरुसँगको रिसानी सिंहदरवारमा पोखियो । सैन्य नेतृत्वले रक्तपात नहोस् भनि संयमता अपनाएको दाबी गर्छ । तर, सुरक्षा फौज परिचालनले जनधनको क्षति न्यून हुन्छ भन्ने बुझ्नुपर्छ । शून्य सुरक्षा भएकै कारण भदौ २४ मा ५४ जनाको ज्यान गयो ।

–एक्स्पोज भयो जेनजी– उसले आन्दोलन थाल्यो, उसैले गोली खायो, उसैका नाममा विध्वंस भयो तर न उसको नेतृत्व भयो न उसले भनेजस्तो परिवर्तन लिपीवद्ध गर्न दिइयो । युज्ड एण्ड थ्रो गरियो ।

–एक्स्पोज भयौं हामी सबै । नेताको र्याईंदाइँ सहन सकेनौं, आफ्नै घर र आफ्नै जनलाई जलायौं । राष्ट्रिय सम्पत्ति जोगाउन र जिउधनको क्षति कम गराउन अपवादबाहेक कोही अग्रसर भएन । एउटा झुण्डले सिंहदरबार जलायो । सिंहदरवार वरपर दशौं हजार बस्छौं तर सिंहदरवारमा एक थोपो पानी खनाउने चेष्टा गरेनौं । कोसिस गर्दा बचाउन सकिन्थ्यो भन्ने छिटपुट उदाहरण छन् । दाङको अदालत एक्ली सुरक्षाकर्मीले हारगुहार गरेर बचाइन् । लम्की चुहा नगरपालिका बचाउन मेयर सफल रहिन् ।

–एक्स्पोज भयो हाम्रो मुखौटे राष्ट्रवाद– नेपालीको राष्ट्रियता सुगौली सन्धीपछि मूलतः मुखौटो राष्ट्रियतामा सीमित छ । राष्ट्रिय झण्डा ओढेर राष्ट्रिय सम्पत्ति र नागरिक जलाउने चेतना हावी भएको छ । जवाफदेही र जिम्मेवार हुन नपर्ने, बैधानिक स्रोत बिना भड्किलो जीवनशैली जिउन पाइने, राज्य लुटिरहने तर अरुलाई तथानाम भनेर राष्ट्रवादी बन्न पाइने एकमात्र जाती हौं–नेपाली । अन्त यस्तो चल्दैन । सबै एक्स्पोज्ड भएको अवसरमा सबैलाई मम गरेर सच्चिने स्वर्णिम अवसर प्राप्त छ । हामी सच्चिने कि सक्किने ? मात्र एउटै विकल्प बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *