ट्युनिसिया । ट्युनिसियाको तट नजिक डुंगा डुब्दा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ। यो वर्ष भूमध्यसागर क्षेत्रमा भएको सबैभन्दा भीषण समुद्री दुर्घटनामध्ये एक भएको अधिकारीहरूले बताएका छन् ।
मध्य ट्युनिसियाको महदिया बन्दरगाह नजिक करिब ७० जना आप्रवासी सवार डुंगा बुधबार डुबेको थियो । अधिकारीका अनुसार उद्धार टोलीले करिब ३० जनालाई जीवितै उद्धार गरेको छ ।
डुंगामा सवार सबै जना उपसहारा अफ्रिकाका नागरिक रहेको बताइएको छ। ट्युनिसियाली अधिकारीहरूले दुर्घटनाको कारण र परिस्थितिबारे छानबिन सुरु गरेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा करिब २ लाख १० हजार आप्रवासीले मध्य भूमध्यसागर पार गर्ने प्रयास गरेका थिए । तीमध्ये ६० हजारभन्दा बढीलाई नियन्त्रणमा लिएर अफ्रिकी किनारमा फर्काइएको थियो भने करिब २ हजार जनाले समुद्रमै ज्यान गुमाएका थिए।
अफ्रिकाबाट युरोप पुग्ने समुद्री मार्ग विश्वका सबैभन्दा जोखिमपूर्ण आप्रवासन मार्गमध्ये एक हो । ट्युनिसिया हाल युरोप जाने आप्रवासीहरूको प्रमुख पारगमन स्थल बनेको छ ।
