बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग दक्षिण कोरियामा भेट गर्ने भएका छन् । ह्वाइट हाउसका अनुसार दुबै नेताबीचको भेटवार्ता अक्टोबर ३० मा एशियाली शिखर सम्मेलनको अवसरमा हुने तय भएको हो ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समय बढ्दो तनावका कारण यो बैठक अनिश्चित बनेको थियो। तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले बिहीबार पत्रकार सम्मेलनमार्फत भेटवार्ताको पुष्टि गरेकी हुन् । यो ट्रम्प पुनः पदमा फर्किएपछि सीसँगको पहिलो प्रत्यक्ष भेट हुनेछ ।
ट्रम्पले चीनले दुर्लभ पृथ्वी खनिज निर्यातमा लगाएको कडा प्रतिबन्ध फिर्ता नगरेको खण्डमा नोभेम्बरदेखि चिनियाँ सामानमा थप १०० प्रतिशत शुल्क लगाउने चेतावनी दिएका छन् ।
दुबै नेताबीचको द्विपक्षीय बैठक दक्षिण कोरियाको ग्यङजुमा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुने एशिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलनको क्रममा हुने जनाइएको छ ।
‘म चीनका राष्ट्रपति सीसँग लामो समयको बैठक गर्दैछु। हामीले हाम्रा धेरै शंका, प्रश्न र मुद्दाहरू सँगै समाधान गर्न सक्छौं,’ ट्रम्पले यसअघि बताएका थिए ।
