चलचित्रको सफलतामा गीतसङ्गीतको उल्लेख्य भूमिका

काठमाडौं । नेपाली चलचित्र सफल हुनुमा गीतसङ्गीत क्षेत्रको महत्वपूर्ण योगदान रहेको पाइन्छ । चलचित्र भवनसम्म दर्शकलाई आकर्षित गर्ने विभिन्न पक्षमध्ये गीतसङ्गीतको दमदार प्रस्तुतिलाई लिइने गरिन्छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ ‘टिकटक’मा समेत गीतसङ्गीत लोकप्रिय भएपछि चलचित्र हेर्न जानेक्रम बढेको देखिन्छ ।

चलचित्र सफलताको श्रेय पटकथालाई दिनेगरे पनि प्रचारप्रसार र दर्शक आकर्षित गर्ने तत्वका रुपमा गीतसङगीत क्षेत्रलाई जान्छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका चलचित्र सफल हुनुमा गीतसङ्गीतको महत्वपूर्ण भूमिका थियो । किनकि ती चलचित्रमा गीतसङ्गीत झैँ कथावस्तुले चर्चा पाउनै सकेन ।

प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि गीतसङगीतमा उलेख्य लगानी गरेको पाइँदैन । सङगीतकार अर्जुन पोखरेलका अनुसार गीतसङ्गीतलाई अडियो झैँ श्रव्यदृश्य पनि आकर्षक बनाउन आवश्यक छ ।

“चलचित्रमा प्रयोग गरिने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीतअनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतिसङग्रहमा भने त्यो लागु हुँदैन, तर चलचित्रमा गीतसङ्गीतको चर्चापरिचर्चा प्रभावकारी रुपमा प्रवाह हुनेगर्दछ । त्यसले चलचित्रमा मात्र नभई गीतसङ्गीतमा पनि लगानी बढ्नु आवश्यक छ”, सङ्गीतकार पोखरेलले भने ।

‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘ऐश्वर्य’ जस्ता चलचित्र सफल हुनुको कारण गीतसङ्गीत मानिएको छ । चलचित्र ‘नोभेम्बर रेन’ मा समावेश गीत ‘तिमीलाई के भनू’ मा स्वर दिएपछि पाश्र्वगायनमा लोकप्रिय भएका गायक युवराज चौलागाईंले चलचित्रका गीतले पहिचान स्थापित गरिदिएको स्वीकारे ।

“मैले पाश्र्वगायन अगाडि गीतिसङ्ग्रहमा गीत गाएँ, ती लोकप्रिय पनि भएँ । तर, चलचित्रका लागि गीत गाउन थालेपछि मेरो लोकप्रियता बढेको हो । चलचित्रमा स्थापित कलाकार र प्राविधिक हुने भएकाले पनि यसको लोकप्रियता एकल गीतिसङ्ग्रहको तुलनामा बढी पाएको छु”, उनले भने ।

पाश्र्वगायनसँगै आधुनिक गीतसङ्गीतमा व्यस्त गायक चौलागाईंले चलचित्रका लागि आफैँले पनि गीत तयार गर्दै आएको छ । चलचित्र निर्देशक पुर्नेन्दु झाका अनुसार चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुन्छ ।

“चलचित्रको प्रचारप्रसार सुरु नै गीतमार्फत गर्ने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य सामाग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भने ।

उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को प्रचारको सुरुआत गीतमार्फत नै गरेको थियो । केही थोरै चलचित्र छन्, जसमा गीतसङ्गीतको आवश्यकता देखिएको छैन । तर, अधिकांश नेपाली चलचित्रमा गीतसङ्गीतको भूमिका महत्वपूर्ण हुने गरेको छ ।

यद्यपि, पछिल्लो समय पर्याप्त समय नहुँदा गीतसङ्गीतमा राम्रोसँग काम गर्न नपाएको गुनासो सङ्गीतकर्मीले गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *