बेइजिङ । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका शीर्ष नेतागण यस हप्ता राजधानी बेइजिङमा भेला भई सन् २०३० सम्म देशको राजनीतिक, आर्थिक र व्यापारिक दिशा तय गर्ने रणनीति बनाउन जुटेका छन् ।
अघिल्ला दशकहरूमा अलगाव र गरिबीबाट उठेर विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको चीन अहिले प्राविधिक र औद्योगिक महाशक्तिको रूपमा स्थापित छ । यसको विशाल निर्यात क्षमताले विश्वव्यापी ढुवानी मार्गहरू भरिएका छन् । तर हालका वर्षहरूमा देशले गम्भीर आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ— तीमध्ये बूढो हुँदै गएको जनसङ्ख्या, सुस्त घरेलु खर्च र अमेरिकासँग बढ्दो व्यापारिक तनाव प्रमुख हुन् ।
पार्टीको आगामी पञ्चवर्षीय योजना तयारीमा केन्द्रित ‘चौथो पूर्ण अधिवेशन’ बिहीबार समापन हुँदैछ । यही बैठकले यी जटिल विषयहरूमा नेतृत्वले कस्तो नीति लिन्छ भन्ने कुरामा स्पष्ट सङ्केत दिने अपेक्षा गरिएको छ ।
चीनको हालको आर्थिक अवस्थालाई बुझाउन केही प्रमुख पक्ष यसप्रकार छन् :
हाल चीनमा उपभोक्ता खर्च कमजोर देखिएको छ । सन् १९७० र १९८० को दशकको उत्तरार्धमा बजार सुधारपछि निर्यातमुखी औद्योगिकीकरण र विशाल पूर्वाधार लगानीबाट देशले दीर्घकालीन विकास हासिल गरेको थियो । तर अहिले जनसाङ्ख्यिकीय परिवर्तन र सहरीकरण सुस्त हुँदै गएपछि अर्थशास्त्रीहरूले दीर्घकालीन विकासका लागि घरेलु उपभोगमा आधारित मोडेलतर्फ मोडिन सुझाव दिइरहेका छन् ।
कोभिड–१९ महामारीपछि उपभोक्ताको विश्वास अझै पुनःस्थापित हुन सकेको छैन । रियल स्टेट क्षेत्रमा जारी सङ्कट, सीमित सामाजिक सुरक्षा र तीव्र प्रतिस्पर्धी श्रम बजारले खर्च घटाएको छ । एएनजेड रिसर्चका विश्लेषकहरूले भनेका छन्, “कमजोर निजी उपभोगका पछाडि चक्रीय र संरचनात्मक दुवै कारण छन् ।”
हालैका वर्षहरूमा जनसङ्ख्या घट्दै गएको र कामदारको सङ्ख्यामा गिरावट आएकोले उपभोग ढाँचा परिवर्तन हुँदै गएको विशेषज्ञहरूको विश्लेषण छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनसँगै पुनः बढेको कर नीतिले चीनको निर्यात उद्योगमा थप दबाब सिर्जना गरेको छ । अमेरिकी बजारमा वैकल्पिक मार्ग खोज्ने प्रयास भइरहे पनि दुवै देशबीचको व्यापार तनाव यथावत् छ । वासिङ्गटनले चीनको दुर्लभ पृथ्वी (खनिज तत्व) उद्योगमा लगाएको नयाँ प्रतिबन्धविरुद्ध आफ्ना सहयोगी राष्ट्रहरूलाई पनि एकजुट गर्न खोजिरहेको छ ।
अर्थविशेषज्ञहरू आगामी महिना राष्ट्रपति सी जिनपिङ र ट्रम्पबीच हुन सक्ने सम्भावित भेटलाई एउटा ‘अफ–’र्याम्प’—अर्थात् व्यापारिक तनाव घटाउने सम्भावना—का रूपमा हेरिरहेका छन् ।
चीनले दुर्लभ पृथ्वी पदार्थहरूको खनन र प्रशोधनमा अग्रणी स्थान कायम राखेको छ । यसले व्यापारिक विवादमा त्यसलाई महत्त्वपूर्ण रणनीतिक लाभ दिएको छ । फिच सोलुसनको एकाइ बिएमआईले आफ्नो प्रतिवेदनमा भनेको छ, “चीनको प्रभुत्व तोड्ने प्रयासहरू तीव्र हुँदै जाने छन्, तर छोटो अवधिमा यसको पकड कमजोर हुने सम्भावना न्यून छ ।”
चीनले हाल घरेलु उपभोगको कमजोरीलाई सन्तुलन गर्न निर्माण र लगानीमुखी आर्थिक मोडेलतर्फ ध्यान केन्द्रित गरेको छ । तर यसले उद्योगहरूमा अत्यधिक उत्पादनको समस्या बढाएको छ । नोमुराका विश्लेषकहरूका अनुसार यो अतिक्षमता चीनलाई निर्यात बढाउन बाध्य पारिरहेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा र व्यापारिक तनाव दुबै बढाएको छ ।
विद्युतीय सवारी साधनदेखि सौर्य प्यानलसम्मका क्षेत्रमा चीनमाथि बजार ‘बाढी’ ल्याएको आरोप लागिरहेको छ ।
यसैबीच रियल स्टेट बजारको पतनले देशको आन्तरिक मागमा गम्भीर असर पारेको छ । सम्भावित घरमालिकहरूको आत्मविश्वास घटेको छ भने इस्पात, कङ्क्रिट र सिसाजस्ता उत्पादनको माग पनि घटेको छ ।
नोमुराका विश्लेषकहरूका अनुसार पार्टी नेताहरूको यो साप्ताहिक बैठकले आगामी पाँच वर्षका लागि सबैभन्दा प्रमुख घरेलु चुनौती ‘रियल स्टेटको असन्तुलन समाधान गर्ने’ कार्य हुने सङ्केत दिएको छ ।
बेइजिङमा भेला भएका नेताहरूले यिनै आर्थिक समस्याहरूलाई सम्बोधन गर्ने ठोस नीति निर्माण गर्नुपर्ने दाबीसहित देशको दीर्घकालीन विकासको मार्गचित्र तय गर्ने प्रयास गरिरहेका छन् ।