बुटवल । रुपन्देहीमा मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबेर तीन जनाको मृत्यु भएको छ । बुधबार गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् ।
दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजेतिर उनीहरू मूर्ति विसर्जन गर्न पुगेका थिए।
विसर्जनका क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरु गरेका थिए । खोजीका क्रममा करिब दुईसय मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।