थाइल्यान्डकी पूर्वप्रधानमन्त्री पेटोङटार्न सिनावात्राद्वारा पार्टी नेतृत्वबाट राजीनामा

बैङ्कक ।  थाइल्यान्डकी हालै पदच्युत पूर्वप्रधानमन्त्री पेटोङटार्न सिनावात्राले आफ्ना पिता, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टी प्रमुखबाट बुधबार राजीनामा दिएकी छन् । यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

३९ वर्षीया पेटोङटार्नले प्रधानमन्त्रीको रूपमा एक वर्ष पनि पूरा गर्नुअघि नै कम्बोडियासँगको सीमा विवादमा देखिएको भनिएको नैतिकता उल्लङ्घनको आरोपका कारण गत अगस्टमा अदालतले उनलाई पदबाट बर्खास्त गरेको थियो ।

थाक्सिन सिनावात्रा परिवार पछिल्लो दुई दशकदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गको प्रमुख प्रतिद्वन्द्वी रहँदै आएको छ । ती वर्गले सिनावात्रा परिवारको लोकप्रियतावादी राजनीति परम्परागत सामाजिक संरचनाका लागि खतरा भएको आरोप लगाउँदै आएका छन् ।

तर हालका वर्षहरूमा सिनावात्रा परिवारले कानूनी र राजनीतिक रूपमा कठिन चरणको सामना गर्दै आएको छ । ७६ वर्षीया थाक्सिनले आफ्नै शासनकालमा भएका भ्रष्टाचारका मुद्दामा जेल सजाय भोगिरहनुभएको छ । यसले परिवारमाथि थप दबाब सिर्जना गरेको छ ।

फेउ थाई पार्टीले बुधबार जारी गरेको विज्ञप्तिमा पेटोङटार्नको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको उल्लेख छ । विज्ञप्तिमा उनले भनेकी छन्, ‘मेरो राजीनामाले पार्टीलाई पूर्ण रूपमा सुधार गर्न मद्दत गर्नेछ र अन्ततः हामी पुनः चुनाव जित्न सक्षम हुनेछौँ ।’

उनले पार्टीको साधारण सदस्यका रूपमा रहँदै ‘हाम्रो थाइल्यान्डका लागि निरन्तर कडा परिश्रम गर्ने’ प्रतिबद्धता व्यक्त गरेकी छन् ।

थाक्सिनले सन् १९९० को दशकको उत्तरार्धमा फेउ थाईको पहिलो रूप थाइ राख थाइ पार्टी स्थापना गरेका थिए । उनलाई सन् २००६ को सैनिक विद्रोहमा पदच्युत गरिएपछि एक दशकभन्दा बढी समय निर्वासनमा बस्नुपरेको थियो ।

पेटोङटार्न आफ्ना पिता थाक्सिन र काकी यिङलक सिनावात्रापछि प्रधानमन्त्री बन्ने तेस्री सिनावात्रा हुन । उनी हाल पनि सक्रिय रूपमा राजनीतिमा संलग्न परिवारकी अन्तिम सदस्य मानिन्छन्।

राजनीति विश्लेषकहरूको भनाइमा उनको राजीनामाले थाइल्यान्डको राजनीतिमा सिनावात्रा परिवारको प्रभाव क्रमशः क्षीण हुँदै गएको संकेत गर्छ । तथापि, कतिपयले भने अझै पनि फेउ थाई पार्टीको पछाडि परिवारको प्रभाव कायम रहेको विश्वास गर्छन् ।

‘फेउ थाईको नेतृत्व जोसुकैले गरे पनि यसको वास्तविक नियन्त्रण सधैँ ब्याकरूममा सिनावात्रा परिवारकै हातमा रहनेछ’, सुखोथाई थम्माथिरत ओपन युनिभर्सिटीका राजनीति विज्ञ युटापोर्न इसाराचाईले भने ।

उनका अनुसार अदालतले पेटोङटार्नलाई पदबाट हटाएपछि पार्टीलाई कानुनी जोखिमबाट जोगाउनकै लागि उनको राजीनामा मुख्य रूपमा आवश्यक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *