सबै प्रमाण हुँदाहुँदै पनि सरकार अपराधीहरूलाई जोगाउन लागिपरेको छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् ।

उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन् ।

त्यसक्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको बताए । उनले भने,‘देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन् । यसको तयारी पहिले देखिनै गरिएको थियो र खासगरी एमालेलाई टार्गेट गरिएको थियो ।’

ओलीले सरकारलाई घटनाका दोषीहरूलाई कारबाही गर्न नचाहेको आरोप लगाउँदै भने, ‘सबै प्रमाण हुँदाहुँदै पनि सरकार अपराधीहरूलाई जोगाउन लागिपरेको छ । गृहमन्त्रीको अभिव्यक्तिबाट सरकारको मनसाय प्रस्ट देखिन्छ ।’ उनले यो घटना ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भएको बताए ।

उनले आफ्नो सम्पत्ति श्रीमतीले पहिल्यै राज्यको नाममा दिइसकेको भन्दै यसबाट राज्यलाई क्षति पुगेको बताए ।

ओलीले आफूलाई अझै व्यक्तिगत रुपमा लक्षित गरिन सक्ने गम्भीर आशंका रहेको भन्दै राज्य संयन्त्रप्रति गम्भीर प्रश्न उठाएका छन् । ‘सरकार अझै जेनजीलाई उचालेर हामीलाई दबाब दिन खोजिरहेको छ,’उनले भने ।

ओलीले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *