राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौँ । सरकारले निर्वाचनको वातावरण निर्र्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले आगामी फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिएको हो ।  उक्त प्रयोजनका निम्ति सरकारले मंगलबार सर्वदलीय बैठक आयोजना गरेर सरकार र दलहरुबीचको वर्ता र संवाद अघि बढाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मङ्गलवार सर्वदलीय बैठक बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब पाँच घण्टा चलेको बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सरकार र राजनीतिक दलहरुबीच सकारात्मक छलफल भएको हो ।

सर्वदलीय बैठकमा भएका छलफलबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरुबीचको संवादले निर्वाचनको माहोल बनेको बताए । उनले भने, “सरकार र राजनीतिक दलहरुबीच आज भएको छलफलबाट सरकार उत्साहित बनेको छ । यसले निर्वाचनको वातावरण बनेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजनीलगायत सबै सरोकारवाला पक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन् ।”

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठकमा खासगरी आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने, सुशासन सन्दर्भ र भ्रष्टाचार नियन्त्रणबारे सघन रुपमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए । “निर्वाचनको सन्दर्भमा गहन छलफल भएको छ । निर्वाचनको वातावरणका लागि सरकारले गर्ने कामको अवगत गराइएको छ”, सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले भने, “राजनीतिक दलहरुकोतर्फबाट सूरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो छ, त्यसप्रति सरकार प्रतिवद्धताका साथ लागेको छ । निर्वाचनको लागि वातावरण बनाउन सरकारकोतर्फबाट भइरहेका तयारीबारे दलहरुलाई अवगत गराइएको छ ।”

मन्त्री खरेलले भने, “निर्वाचनको वातावरण बनाउनका लागि राजनीतिक दलहरुसँग भएको वार्ताबाट सरकार एकदमै उत्साहित बनेको छ र राजनीतिक दलहरुबाट असाध्यै सकारात्मक जवाफ आएको छ । उहाँहरुको अलिबढी चासो निर्वाचनमा सूरक्षाको वातावरण बनाउने कुराहरुमा छ, त्यसका निम्ति सरकारले वातावरण बनाउने तथा राजनीतिक दल र जेनजीहरुले पनि सघाएर निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने माहोल बनेको छ ।”

उनले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन सरकारले दलहरुलाई संवाद र विश्वासमा लिएर सबैखाले पहलकदमी लिएको स्पष्ट पारे । उनले भने, “सबैभन्दा महत्वपूर्ण कुरा भनेको केहो भने राजनीतिक दलहरु र सरकारबीच सिधा संवाद हुनुपर्ने कुरा जनताबाटै आइरहेको थियो सोही कुरालाई आत्मसाथ गर्दै प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकारकोतर्फबाट राजनीति दलहरुलाई वार्ताका लागि बोलाएको हो । सरकारले जति राजनीतिक दलहरुलाई बोलाएको थियो उहाँहरु सबै वार्तामा आउनुभएको छ । छलफलमा सहभागी सबैको सकारात्मक कुरा आएको छ ।”

छलफलमा सहभागी राजनीतिक दलका नेताहरुले निर्वाचनमा सहभागी हुने बताएको उनले उल्लेख गरे । सञ्चारमन्त्री खरेलले भने, “सबैको सकारात्मक कुरा रहेको छ । साथै निर्वाचनमा भाग लिइरहदा सुरक्षाको वातावरण सरकारले मिलाउनुपर्छ भन्ने उहाँहरुको बढी चासो छ । त्यस यसबाहेक सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि छलफल भएको छ । अर्कोतर्फ जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा पनि कुराकानी भएको छ ।”

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको समेत समर्थन रहेको उल्लेख गरे । उनले  अगाडि थपे, “सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ, राजनीतिक दलले मत माग्ने र जनताले मतदान गर्ने वातावरण बन्नुपर्छ भन्नेबारे दलहरुले चासो र चिन्ता राख्नुभएको थियो । सरकारकोतर्फबाट निर्वाचनको सूरक्षाको वातावरण बनाउन सम्पूर्ण तयारी गर्छ, राजनीतिक दलहरुले ढुक्कसँग निर्वाचन प्रक्रियामा सहभागि हुनुपर्छ भनेर हामीले विश्वास दिलाएका छौँ ।”

मन्त्री खरेलले जेनजी आन्दोलनको भावनाअनुसार बनेको सरकारको एक महिनामा अवस्थालाई सामान्यीकरण बनाउन लागेको र राजनीतिक संवादको वातावरण बढेको उल्लेख गरे । उनले राजनीतिक दलहरुले पनि निर्वाचनका लागि वातावरण बनाउनुपर्ने र त्यसका लागि जेनजी युवाहरुले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । यद्यपि जेनजी युवाहरुको  मुद्दाहरु समयमै सम्बोधन गर्नुपर्ने दायित्व रहेको उनको भनाइ छ ।

“एकमहिनामा यो सार्वजनिक रुपमा सर्वदलीय बैठक मात्रै हो । सबैभन्दा पहिले राष्ट्रपतिको पहलमा दलहरुसँग संवाद भएको थियो । प्रधानमन्त्रीले यसअवधिमा शीर्ष राजनीतिक दलका नेताहरुसँग ‘वान अन वान’ पनि वार्ता गर्नुभएको छ । उहाँहरुको वार्ता र छलफलपछि आजको सर्वदलीय बैठक भएको हो ।”

पछिल्लो १० दिनदेखि राजनीतिक दलहरुसँग निरन्तर वार्ता र संवाद भइरहेको छ तथा आजको छलफलले संवादहीनताको अन्त्य भएको सञ्चारमन्त्री खरेलको भनाइ थियो ।

सञ्चारमन्त्री खरेलले सम्भवतः तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार हुने र यसका लागि प्रधानमन्त्रीले पहल गरिरहेको जानकारीसमेत दिए ।

मंगलबार भएको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए ।

त्यसैगरी छलफलमा नेपाली कांग्रेसबाट गगनकुमार थापा र डा प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *