काठमाडौं । राजनीतिक दलहरुले शान्ति सुरक्षाको प्रत्याभूतिविना निर्वाचन सम्भव नहुने बताएका छन् । मंगलबार प्रधानमन्त्रीसँगको छलफलमा दलका नेताहरुले निर्वाचनमा जान शान्ति सुरक्षाप्रति आशंका गरेका छन् । छलफलपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सबै दलले शान्ति सुरक्षाप्रति आशंका गरेको जानकारी दिए ।
उनले भने,‘अधिकांशको एउटै कुरा थियो, शान्ति सुरक्षाको यथेष्ट प्रत्याभूति छैन । आत्मविश्वास सुरक्षा निकायमा पनि देखिदैन । आमनागरिकले पनि निर्वाचन हुन्छ भन्ने विश्वास गरेका छैनन् । निर्वाचनका लागि शान्ति सुरक्षाका सम्पूर्णरुपमा प्रत्याभूति हुनुपर्छ ।’
उनले सरकार कतिपय मन्त्रीका अभिव्यक्तिले निर्वाचनको विश्वास दिलाउन नसकेको बताए । सरकारको म्यान्डेट नै निर्वाचन भएकाले विश्वासको वातावरण सरकारले बनाउनुपर्ने उनले बताए ।
छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा प्रकाशशरण महत, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी थिए ।
त्यस्तै, जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला सहभागी थिए ।
सरकारकातर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए ।