दलहरुसँगको छलफलमा प्रधानमन्त्रीले भनिन्- जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार लागिपरेको बताएकी छन् ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा राजनीतिक दलहरुसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सरकारका निकाय गम्भीर भएर लागिरहेका बताइन् । उनले भनिन्, ‘तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ ।यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ।’

प्रधानमन्त्री कार्कीले आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भएकाले दलहरुसँगको छलफलमा ढिलाइ भएको बताइन् । उनले निर्वाचनको वातावरण बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले संवादको ढोका खोलेको र अब जेनजीसँग पनि संवादमा बस्नुपर्ने बताएकी छन् ।

उनले भनिन्, ‘राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ । अब जेनजी र दलहरू बसौँ । जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ । चुनाव सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेलौँ ।’ प्रधानमन्त्रीले दलहरुले शान्ति सुरक्षालगायतका विषयमा व्यक्त गरेका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको बताइन् ।

छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा प्रकाशशरण महत, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी थिए ।

त्यस्तै, जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला सहभागी थिए ।

सरकारकातर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए । बैठकमा एमालेले भने सरकारले निर्वाचन हुनेमा आशंका व्यक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *