तिहारमा झिनियाको माग उच्च

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब  दुई लाखको झिनिया बिक्री गरे ।

मङगलाघाटकै कल्पना श्रेष्ठलाई पनि झिनिया बनाउन भ्याइनभ्याइ छ । हरिकुमार र कल्पना मात्र नभइ बेनीका उद्यमीहरूका लागि झिनिया आम्दानीको स्रोत बनेको छ । “तिहारका लागि झिनीयाको माग बढेकाले भ्याई नभ्याई भएको हो,” हरिकुमारले भने, “तिहारको समयमा धेरै माग र खपत हुने झिनिया अन्य समयमा पनि राम्रै बिक्री भइरहेको छ ।”

हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुनेगर्छ । तिहारका लागि दसैँ सकिएदेखिनै झिनिया बनाउन थालेकी उद्यमी कल्पनाले माग धान्न मुस्किल परेको बताए।

“पोखराबाट दुई लाखको झिनियाको माग आएको थियो,” उनले भने “राम्रोसँग घाम नलाग्दा पोखराको माग पुर्‍याउन सकिएन् । बेनीकै ग्राहकलाई बल्लतल्ल पुर्‍याएको छु ।” दसैँलगत्तै बेनीका उद्यमीले तिहारका लागि झिनिया बनाउन थालेका थिए । चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ ।

झिनिया घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ । प्रति १२ वटा झिनियालाई रु एक सय ५० का दरले बिक्री हुने गरेको छ । चाडपर्व र आफन्तलाई भेट्न जाँदा झिनिया कोसेली लैजाने चलन छ । झिनियालाई खाजाको परिकारको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

घरमा बनाउन झञ्जट हुने, बिग्रने डर तर कोसेली लैजान सजिलो हुने भएकाले झिनिया रोजाइमा परेको बेनीका उपभोक्ता नवीन घिमिरेले बताए । बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार तिहारको समयमा एक जनाले रु दुई लाखदेखि तीन लाखको झिनिया बिक्री गर्छन् ।

सदरमुकाम बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या २५ भन्दा धेरै छ । झिनिया बनाउन तीन जना जनशक्ति आवश्यक पर्छ । एक दिनमा तीन जनाले ३० दर्जनसम्म झिनिया बनाउन सक्छन् ।

घरायसी कामबाट बचेको फुर्सदको समय सदुयोग हुनुका साथै झिनिया बेचेर भएको आम्दानीले घर व्यवहार चलाउन सजिलो भएको उद्यमीहरूले बताएका छन् । झिनिया बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि औजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *