झापा । झापाको भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्वीर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ । ‘जेन–जी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय साहले बताए ।
भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्वीर समावेश गरिएका छन् । समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो ।
‘हामीले छोटो समयमा विभिन्न सहयोगी दाताको साथ र सहयोगमा राष्ट्रियता झल्काउने पण्डाल निर्माण गर्न सफल भएका हौँ,’ उनले भने, ‘पण्डाल सबैले रुचाएका छन्, यस कार्यको प्रशंसा पनि गरेका छन् ।’
पण्डाल, बिजुली बत्ती र साङ्गीतिक कार्यक्रमलगायत करिब सात लाख खर्च हुने अनुमान गरिएको समितिले जनाएको छ । कात्तिक ७ गते पूजास्थलमा स्थानीय तथा भारतीय कलाकारहरूको सहभागितामा बृहत् साङ्गीतिक कार्यक्रम आयोजना गरिने समितिका सदस्य निर्मल घोषले जानकारी दिए ।
बङ्गाली समुदायका युवाहरूले स्थापना गरेको क्लब बाङ्गला भद्रपुरले अघिल्लो वर्ष केदारनाथ मन्दिरको आकृतिमा पण्डाल बनाएको थियो । उक्त क्लबले विगत नौ वर्षदेखि विभिन्न आकृतिमा पण्डाल निर्माण गर्दै कालीपूजा गर्दै आएको समितिका सदस्य घोषले बताए ।