बीबीसी । जापानको संसदमा भएको मतदानमा विजयी हुँदै सनाए तकाइची देशकी प्रथम महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् ।
राजनीतिमा आउनुअघि उनी टेलिभिजन कार्यक्रमकी प्रस्तोता र कुनै बेला ’हेभी मेटल’को एउटा साङ्गीतिक समूहकी सदस्य थिइन् । पछि उनी मन्त्री पनि बनिन् ।
अब उनीसमक्ष सुस्त गतिको अर्थतन्त्र, तलब नबढेको तर महँगीको मारमा परेका जापानी जनताका समस्या अनि न्यून जन्मदर र बढ्दो भूराजनीतिक तनावका पहाडहरू छन् ।
देशको कार्यकारीका रूपमा उनले जापान र अमेरिकाको सम्बन्ध अनि ट्रम्प प्रशासनसँग निवर्तमान सरकारले गरेको ट्यारिफसम्बन्धी सम्झौतासँग जोडिएका अनेकौँ व्यवहार गर्नुपर्ने छ ।
उनको जन्म सन् १९६१ मा भएको हो । उनका बुवा कर्मचारी र आमा प्रहरी थिए। उनको लालनपालनमा राजनीति कतै पनि जोडिएको थिएन । हेभी मेटल सङ्गीतमा लाग्दा उनी ड्रम बजाउँथिन् । धेरै ड्रम बजाउँदा भाँचिने भएकाले उनी आफूसँग धेरैवटा ‘स्टिक’ बोकेर हिँड्थिन्। उनी स्कूबा डाइभिङ पनि गर्थिन् र कारमा उनको धेरै रुचि थियो ।
सन् १९८० को दशकमा जापान र अमेरिकाबीच हुने व्यापारमा तनाव उत्पन्न भएको बेलामा तकाइचीलाई राजनीतिमा जाने प्रेरणा प्राप्त भयो । अमेरिकाले जापानलाई हेर्ने दृष्टिकोण बुझ्न उनले अमेरिकी डेमोक्र्याट सांसद प्याट्रिसिआ श्रोइडरको कार्यालयमा काम गरिन्। श्रोइडर जापानकी आलोचक थिइन् ।
अमेरिकीहरूले जापानी, चिनियाँ र कोरियाली भाषा र परिकार सबैलाई एउटै डालोमा राखेर हेर्ने गरेको थाहा पाइन् । उनी सन् १९९२ को संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनिन् तर पराजित भइन् ।
त्यसपछि अर्को वर्ष फेरि चुनाव उठिन् र जितिन् । सन् १९९० मा उनी एलडीपीमा प्रवेश गरिन्। उनी १० पटक सांसद निर्वाचित भएकी छन् भने एक पटक निर्वाचनमा पराजित भएकी छन्। उनी पार्टीभित्र प्रखर परम्परावादी नेत्रीका रूपमा चिनिन्छिन् ।
उनले विभिन्न मन्त्रालयको नेतृत्व पनि गरेकी छन्। जापानमा उनी अहिलेसम्म सबै भन्दा लामो समय आन्तरिक मामिला र सञ्चार मन्त्रालय सम्हाल्ने व्यक्ति हुन् । एलडीपीको नेतृत्वका लागि उनले सन् २०२१ मा प्रतिस्पर्धा गरिन् तर फुमिओ किशिदासँग पराजित भइन् ।
सन् २०२४ मा भएको आन्तरिक निर्वाचनमा उनी पहिलो चरणमा अग्रस्थानमा थिइन् तर पछि शिगेरु इशिवा पार्टीका नेता छानिए । उनी तेस्रो पटकको प्रयासमा यसपालि एलडीपीको नेतृत्वमा पुगेकी छन् ।