हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँः प्रधानमन्त्री कार्की

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका हुन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग र जेनजी आन्दोलनका घाइतेले छलफल गरेका हुन् ।

छलफलका क्रममा घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । उनीहरुले भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

जेनजी आन्दोलनका घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए । घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे जानकारी गराएका थिए । गृहमन्त्रीले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए । प्रधानमन्त्री कार्कीले सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताइन् ।

उनले भ्रष्टाचारको अनुसन्धान पनि सरकारले सुरु गरिसकेको जानकारी दिइन् । उनले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ। प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ । हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ । चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ । राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन् । तपाईँहरु बोल्न नछाड्नुहोस् । हामीलाई दबाब दिन पनि नछाड्नुहोस् ।’

छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *