एसियन विकास बैङ्क र विश्व बैङ्कबीच ३ अर्ब डलरको सम्झौता, ऋण क्षमता विस्तारमा सहयोग

मनीला । एसियन विकास बैङ्क (एडिबी) ले एशिया–प्रशान्त क्षेत्रका विकासशील मुलुकहरूलाई थप आर्थिक सहायता दिनसक्ने गरी विश्व बैङ्कसँग ३ अर्ब अमेरिकी डलर बराबरको जोखिम साटफेर सम्झौता गरेको छ । एडिबीका अनुसार, यो सम्झौता विश्व बैङ्कसँगको पहिलो हो, तर अन्य बहुपक्षीय विकास बैंकहरूसँगको छैटौं सम्झौता हो ।

सन् २०२० यता गरिएका यस्ता सम्झौताहरूको कुल रकम नौ अर्ब डलर पुगेको छ । एडिबीकी वित्त तथा जोखिम व्यवस्थापन उपाध्यक्ष रोबर्टा कासालीले भने,आजका जटिल चुनौतीहरूमाझ बहुपक्षीय बैङ्कहरूबीच सहकार्य अत्यावश्यक छ । यस्ता सम्झौताले हामीलाई जोखिम सन्तुलनमा राख्दै, अझ धेरै देशसम्म सहायता पुर्याउने अवसर दिन्छ ।

विश्व बैङ्क समूहकी प्रमुख वित्त अधिकृत अंशुला कान्तका अनुसार, यो सम्झौताले बहुपक्षीय बैंकहरूबीच सहकार्य गर्दै कुल ऋण क्षमतामा विस्तार ल्याउने उद्देश्य राखेको छ । सार्वभौमिक जोखिम साटफेर भनेको यस्तो प्रणाली हो, जसले बैङ्कको जोखिम धेरै एउटै मुलुक वा क्षेत्रमा केन्द्रित नहोस् भनेर सन्तुलन कायम गर्छ ।

यसले पूँजीको प्रयोग कम गरी, थप ऋण दिन सक्ने क्षमता बढाउँछ। एडिबीले जनाएको छ कि यस किसिमको रणनीतिक सहकार्यले एशिया–प्रशान्त क्षेत्रका विकासशील मुलुकहरूलाई आवश्यक परेको आर्थिक सहायता सजिलो र सुलभ बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *