काठमाडौं । हमासले बन्धक बनाएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार नेपाल ल्याइएको छ । विपिनको शव सोमबार दिउँसो इजरायलबाट नेपाल ल्याइएको हो ।
शव नेपाल ल्याएपछि उनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, संचारमन्त्री जगदीश खरेल र उर्जामन्त्री कुलमान घिसिङ तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू त्रिभुवन विमानस्थल पुगेका थिए ।
विपिनको शवमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय झण्डा ओढाएकी थिइन् । उनको शव आजै कञ्चनपुर घरमा लगिएको छ र त्यहीँ अन्तिम दाह संस्कार गरिने बताइएको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।