गंगा दाहालले दिइन् प्रचण्डको सचिवालय सदस्यबाट राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले पदबाट राजीनामा दिएकी छन् ।

सोमबार सामाजिक संजालमार्फत दाहालले सचिवालय सदस्यबाट राजीनामा दिएको घोषणा गरेकी हुन् । उनले भनेकी छन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु । पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

यस्तो छ गंगा दाहालको भनाई

मेराबारेमा पछिल्लो समयमा बिभिन्न संचारमाध्यममा आएका भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । म, बुवा (नेकपा माओवादी केन्द्रका संयोजक कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको देहवसानपछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा जिम्मेवारी लिएर आएँ । मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइ प्रकाशले निभाउँदै आएको भूमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरुको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफूले सकेको सहयोगको कोशिस गरिरहें । यस दौरानमा सबैको भावना अनुसार काम गर्न सकिन होला त्यसका लागि आत्मआलोचित हुँदै यति चाहिँ म गर्वका साथ भन्छु मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन ।

सधैं सहयोगीका रुपमा राम्रो गर्ने कोशिस गरिरहें । तर दुःख लाग्छ, यो ठाउँ नै त्यस्तै होकी जति राम्रो गर्छु भन्दा पनि, जति नै बिवादरहित भएर काम गर्छु भन्दा पनि बिवादमा त परिहालिने रहेछ । । म, मेरा दिदीहरू र भाइलाई महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियो । कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेराबारेमा निरन्तर प्रहार गर्दै सञ्चारमाध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन् । कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।

निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु । पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
अन्तमा, दिपावलीको दीप जस्तै तपाईँहरुको जीवन उज्यालो बनोस्, सबैमा दिपावली, छठ, नेपाल संवतलगायत पर्वको हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *