अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् ।

फक्ताङलुङ गाउँपालिका-६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उनले बताए ।

फुङ्लिङ नगरपालिका-७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहेका छन् । दसैँ परिवारसहित बगानमै मनाउनु भएको उनले तिहार पनि त्यहीँ मनाउने तयारी गरिरहेका छन् । ‘चालीस वर्षदेखि अलैँचीखेती गरिरहेको छु ।’ उनले भने,’छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ ।’

किसान शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ । तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टिमा तयारी गर्न एक हप्ताभन्दा बढी समय लाग्ने उनको भनाइ छ । जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिपाइ गर्ने चलन छ ।

जिल्लाका ९ स्थानीय तहमध्ये फक्ताङलुङ-७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुन्छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ । आइतबार ताप्लेजुङमा प्रतिमन ९४० केजी० खलैँचीको मूल्य रु ८८ हजारमा खरिदबिक्री भइरहेको व्यवसायी कमल बरालले बताए ।

अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ७०० सम्म ज्याला पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *