विपिन जोशीको शव आज तीन बजे काठमाडौं आइपुग्ने

काठमाडौं । हमासले बन्धक बनाएर मारिएका नेलाली विद्यार्थी विपिन जोशीको शव आज इजरायलबाट काठमाडौं ल्याइँदैछ ।

आज दिउँसो ३ बजे शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुरयाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले जानकारी दिएका छन् ।

विपिनको शव बुझ्न र श्रद्धाञ्जली व्यक्त गर्न आज दिउँसो ३ बजे त्रिभुवन विमानस्थल पुग्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘आज हामी एकजना वीर नेपाली छोरा, विपिन जोशीको पार्थिव शरीर बुझ्न र श्रद्धान्जली व्यक्त गर्न दिउँसो तीन वजे एयर्पोर्ट जाँदैछौं । यो खबर सुनेदेखि म स्तब्ध छु । हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्यो । उहाँको अकाल निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु। तर, त्यो अन्तिम त्रासदीको क्षणमा पनि उहाँले देखाउनुभएको अपूर्व साहस, बहादुरी र त्यागले अरू धेरै साथीहरूको जीवन बचायो । विपिनको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सर्वोच्च विरासत हो। यसले हामी सबैलाई उहाँप्रति सदाकाल गर्वान्वित बनाइरहनेछ। उहाँ नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैं जीवित रहनुहुनेछ।’

मन्त्री घिसिङले यो केवल एउटा दुःखद समाचार मात्र नभई हाम्रो राष्ट्रिय आर्थिक व्यवस्थाको, हाम्रो प्रणालीको एउटा डरलाग्दो ऐना भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘यो केवल एउटा दुःखद समाचार मात्र होइन। यो हाम्रो राष्ट्रिय आर्थिक व्यवस्थाको, हाम्रो प्रणालीको एउटा डरलाग्दो ऐना हो। एउटा यस्तो ऐना, जहाँ हाम्रा होनहार युवाका सपनाहरू, उनीहरूको भविष्य, र कहिलेकाहीँ त उनीहरूको जीवन नै हराएर जान्छ । यस्तो अवस्थाको अन्तय गरी हरेक नेपालीले नेपालमै वसी स्वाभिमानपूर्वक आफ्नो सपना साकार पार्ने भविष्य देख्ने अवस्था सृजना गर्ने तर्फ हामी सवै एक भएर लाग्न म आम नेपाली जनसमुदायमा अपील गर्दछु ।’

काठमाडौँबाट विपिनको शव उनको घर कञ्चनपुर पुर्याइनेछ । शव नेपाल पठाउनुअघि विपिन जोशीलाई आइतबार इजरायलमा कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली दिइएको थियो । विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कैलालीस्थित टीकापुर कृषि क्याम्पसबाट ४९ जना विद्यार्थीको टोलीमा २०८० भदौ अन्तिम साता इजरायल गएका थिए ।

सन् २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिए भने विपिन अपहरणमा परेका थिए । विपिनको भने केही दिनअघि हमासले मृत्यु भएको भन्दै शव हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *