इजरायल । जब मानिसले कुनै कार्यमा ध्यान केन्द्रित गर्छ, त्यसबेला मस्तिष्कले केवल फरक ढङ्गले नसुनी स्मार्ट रूपमा पनि सुन्छ भन्ने तथ्य हालैको अध्ययनले पुष्टि गरेको छ।
जेरुसेलमस्थित हिब्रू विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले मस्तिष्कको प्रमुख ध्वनि–प्रशोधन केन्द्र श्रवण कर्टेक्स सक्रिय संलग्नताका बेला कसरी कार्य गर्छ भन्ने नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। यसले केवल आवाजको प्रतिक्रियामा मात्र नभई, कार्यको लयसँगै आफ्नै गतिविधिलाई सिङ्क्रोनाइज गर्ने गर्छ।
साइन्स एडभान्सेस पत्रिकामा प्रकाशित यो अध्ययनको नेतृत्व एडमन्ड एन्ड लिली साफ्रा सेन्टर फर ब्रेन साइन्सेज र इन्स्टिच्युट अफ लाइफ साइन्सेजका प्राध्यापक इजरायल नेल्केनले गरेका हुन्। उनको नेतृत्वमा गरिएको यो अनुसन्धानले श्रवण सहायता, ध्यान प्रशिक्षण तथा मस्तिष्क–कम्प्युटर इन्टरफेस सुधार गर्न सघाउने सम्भावना देखाएको छ। यसले मस्तिष्कले कसरी ध्वनिलाई फिल्टर गर्छ र प्राथमिकता दिन्छ भन्ने संयन्त्रलाई स्पष्ट पारेको छ।
वैज्ञानिकहरूको भनाइमा यस संयन्त्रको नक्कल गरेर विकास गरिने उपकरण र थेरापीहरूले व्यक्तिले केन्द्रित हुँदा वास्तविक समयमा पृष्ठभूमि आवाजलाई दबाउन र महत्त्वपूर्ण ध्वनिको स्पष्टता बढाउन सहयोग गर्न सक्छन्।
शोधकर्ताहरूले जब व्यक्ति कुनै कार्यमा संलग्न हुन्छ, त्यसबेला श्रवण कर्टेक्सका न्युरोनहरू केवल बाह्य आवाजका कारण सक्रिय हुँदैनन्, प्रत्येक न्युरोन फरक क्षणमा ‘टिक’ गर्छ र केवल सुनेको कुरा प्रतिध्वनित गर्ने नभई, बरु कार्यको गतिलाई पहिचान गर्ने सङ्केत दिन्छ भन्ने पत्ता लगाएका छन्।
प्राध्यापक नेल्केनले भने, ‘हाम्रो अध्ययनले देखाउँछ कि मस्तिष्क केवल आवाजमा प्रतिक्रिया दिँदैन, यो हामी के गर्दैछौँ भन्ने आधारमा ती आवाजहरूको अर्थलाई पुनः संरचना गर्छ। जब हामी कुनै कार्यमा केन्द्रित हुन्छौँ, श्रवण कर्टेक्सले त्यस कार्यसँग सम्बन्धित आवाजहरू अझ प्रभावकारी रूपमा सुन्छ।’
पहिले वैज्ञानिकहरूले ध्यानले ध्वनि ग्रहणमा प्रभाव पार्छ भन्ने त जानेका थिए, तर मस्तिष्कले त्यसलाई कसरी प्रशोधन गर्छ भन्नेबारे स्पष्ट थिएनन्। नयाँ अध्ययनले ध्यानले महत्त्वपूर्ण आवाजहरू बढाएर होइन, कार्यको संरचनासँग मेल खाने गरी न्युरोनहरूको समय–गत गतिविधि पुनर्गठन गरेर कार्य गर्छ र यसको अर्थ, श्रवण कर्टेक्सले मात्र प्रतिक्रियाहरू बढाउँदैन, बरु भविष्यवाणी पनि गर्छ र अपेक्षित आवाजहरूको लागि तयारी गर्छ भन्ने देखाएको छ।
कम्प्युटर मोडेलिङद्वारा गरिएको विश्लेषणले यो समय–आधारित गतिविधिले केही न्युरोन जडानहरूलाई अस्थायी रूपमा कमजोर पार्छ, जसले कार्यका लागि आवश्यक ध्वनिलाई अझ स्पष्ट र सटीक रूपमा बुझ्न सहयोग पुर्याउँछ भन्ने देखाएको छ। ध्यानले भोल्युम बढाउने यन्त्रझैँ काम गर्दैन, बरु यो एक अनुकूलन फिल्टरझैँ व्यवहार गर्छ—न्युरोनहरूबीच सञ्चारको ढाँचा पुनः आकार दिन्छ।
यस संयन्त्रको उजागरले मस्तिष्कले जटिल संवेदनात्मक संसारको अर्थ कसरी बनाउँछ भन्नेबारे नयाँ दृष्टिकोण प्रदान गरेको छ। अध्ययनले हाम्रो ध्वनि–ग्रहण प्रणाली निष्क्रिय होइन, बरु भविष्यवाणीमुखी छ—यो निरन्तर आगामी आवाजहरूको तयारीमा रहन्छ भन्ने देखाएको छ।
प्राध्यापक नेल्केनले भने , ‘यो अनुसन्धानले हामी कसरी कोलाहलपूर्ण वातावरणमा पनि ध्यान केन्द्रित रहन सक्छौँ भन्ने व्याख्या गर्छ। मस्तिष्कले अर्थपूर्ण ध्वनिलाई जोड दिन सिक्छ र अप्रासङ्गिक आवाजलाई बेवास्ता गर्छ।’