एन्फाका महासचिव किरण राई निलम्बित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई निलम्बनमा परेका छन् । एन्फाका कार्यवाहक अध्यक्ष वीर बहादुर खड्काले आइतबार राईलाई निलम्बन गरेका हुन् ।

उनले आजदेखि लागू हुनेगरी अर्को कार्यसमिति बैठकसम्मका लागि महासचिव राईलाई पदबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।

राईसँग संघको विधान, विधि र पद्धति विपरीत कार्य गरेको विषयमा ३ दिनभित्र स्पष्टीकरण सोधिएको थियो । तर उक्त समयमा राईले कुनै जवाफ नदिएकाले उनलाई निलम्बन गरिएको एन्फाले जनाएको छ ।

पत्रमा भनिएको छ, ‘संघको साधारण सभा र कार्यसमितिको म्यान्डेटलाई वेवास्ता गर्दै फुटबल खेलको विकासमा दीर्घकालीन असर पार्ने गरी कार्य गर्नुभएकोमा त्यस सम्बन्धमा स्पष्टिकरण मागिएको थियो। उक्त समयमा जवाफ नआएकाले आजदेखि लागू हुने गरी तपाईंलाई महासचिव पदबाट अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँछौं।’

उक्त समयावधिको लागि एन्फाले दामोदर भट्टराईलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *