कसैले बोलाउँदैमा लुरुलुरु बयान दिन जान्नः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कसैले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् ।

आइतबार विभिन्न संचारमाध्यमका सम्पादकहरुसँगको छलफलमा अध्यक्ष ओलीले जेनजी आन्दोलन छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका हुन् । उनले केपी ओलीले थुनिनुपर्ने गरी कुनै पनि अपराध नगरेको बताए ।

उनले भने, ‘कुनै हिसाबले ओलीलाई थुन्ने गरी कहिल्यै काम गरेन । म सोचेर, विचार गरेर मात्रै काम गर्छु । मस्तिष्कले काम गर्ने बानी छ ।’ उनले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताए । आइतबार अध्यक्ष ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्ने बताए ।

उनले भने, ‘म देशमा समृद्धि ल्याइनुपर्छ, समानता ल्याइनुपर्छ, शान्ति सुव्यवस्था विश्वसनीय ढंगले स्थापना हुनुपर्छ । हरेक व्यक्तिले आफ्नो जिउँधन, अधिकार र सम्पत्तिको प्रत्याभूति पाउनुपर्ने हो ।’

उनले समाजमा प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । ओलीले आफ्ना मूल्य र मान्यता देश, जनता र मानव जातिप्रति निष्ठासाथ अडिग रहेको दाबी गरे ।

अध्यक्ष ओलीले देश विकासको दिशामा अघि बढिरहेको अवस्थामा हाल देश अस्थिरतातर्फ गएको आरोप लगाए । ‘देश सार्वभौमसत्ता जर्गेना गर्दै अगाडि बढिरहेको थियो, त्यो अहिले भताभुङ्ग भएको छ,’उनले भने ।
अध्यक्ष ओलीले आफ्नो बफादारी कसैलाई मन नपरे पनि राष्ट्र, जनता र मानवताप्रतिको प्रतिबद्धता नछोड्ने स्पष्ट पारे ।

उनले भने, ‘मेरो बफादारिता कसैलाई मन नपरे पनि देशप्रति मेरो बफादारिता छ । यस देशको जनताप्रति मेरो बफादारिता छ, मानव जातिप्रति मेरो बफादारिता छ, त्यसकारण अघि मैले भनेका मूल्यमान्यताहरु मेरा निष्ठाका विषय हुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *