-डा. सूर्यराज आचार्य ।
पुराना दलहरूले विचारको धागोले जोडिएका ठूला संगठन बनाए । समाजमा सामाजिक सम्बन्धको कडीलाई राजनीतिक सम्बन्धले विस्थापित गर्यो । दलका संगठन संघर्ष र आन्दोलनमा सक्रिय भए। विगतमा ठूला परिवर्तनहरूको नेतृत्व गरे । जनतामा ठूलो अपेक्षा जगाउँदै चुनाव जिते, सत्तामा पुगे । तर दुर्भाग्यवश, सत्तामा पुगेपछि आदर्श त्यागे, विचार बिर्सिए। भ्रष्टाचार र विसंगति बढ्यो । जन असन्तोष प्रकट हुँदै गयो । तर प्रणाली, चरित्र र आचरणमा सुधार आएन। संस्थाहरू भत्किए । राज्यले अपेक्षित परिणाम दिन सकेन। विचार र आदर्शमा विश्वास गरेर दलसँग जोडिएका नागरिकहरूको मन भाँचियो। अब त समाजमा कसैको विचार वा आदर्शप्रति विश्वास नगर्ने मनोविज्ञान विकास भइरहेको छ।
‘जेन–जी’ को आन्दोलनपछि पुराना र ठूला दलहरू संकटमा छन् । आमसमाजले यथास्थितिवादी राजनीतिको विकल्प खोज्दैछ। नयाँ दल खोल्ने क्रम जारी छ। युवा, पेशाकर्मी र व्यवसायीका आशालाग्दा अनुहारहरू सक्रिय राजनीतिमा देखिँदै छन्, जुन आफैंमा सकारात्मक कुरा हो। तर यथार्थमा समाजले पुरानो राजनीतिको विकल्पमा केवल नयाँ दल मात्र खोजेको होइन, नयाँ राजनीतिक दल खोजेको हो।
लोकतान्त्रिक शासन व्यवस्थामा राज्यसत्तामार्फत जनअपेक्षित परिणाम दिई समाज व्यवस्थापन गर्न राजनीतिक दलको भूमिका अपरिहार्य हुन्छ। कुनै पनि पात्र वा समूह जतिसुकै लोकप्रिय किन नहोस्, आधारभूत राजनीतिक चरित्र बिना त्यसले प्रभावकारी राजनीतिक दलको रूप लिन सक्दैन। त्यसैले छोटो समयमा नयाँ दलका सदस्यहरूमा राजनीतिक चरित्रसहितको सामूहिकताको भावना जागृत र विकसित गर्नु दलका अगुवाहरूका लागि ठूलो चुनौती हो।
मुख्य कुरा अब कुनै ‘वाद’ को धागोले नागरिकलाई सजिलै संगठित गर्न सकिँदैन। पछिल्ला वर्षहरूका राजनीतिक बहसहरूले विचार, सुशासन, विकास र समृद्धिजस्ता महत्वपूर्ण विषयहरूलाई निरस (क्लिसे) बनाइदिएका छन्। पुराना दलप्रतिको असन्तुष्टिबाट जम्मा भएका नागरिक समूहलाई आपसमा जोड्ने ‘राजनीतिक धागो’ के हो ? यस्तो धागोले युवादेखि प्रौढ पुस्तासम्म, शहरदेखि गाउँसम्म, मजदुरदेखि उद्योगपतिसम्मका सबै नागरिकलाई कसरी जोड्न सक्ला ?
नयाँ पात्रहरूको राजनीतिक सक्रियता उत्साहजनक छ। तर राजनीतिक अभियान र क्रियाशीलताले मात्र नयाँ दलहरूलाई गति दिन पर्याप्त नहोला। फेरि भनौं—सबैभन्दा महत्वपूर्ण कुरा समाजलाई जोड्ने मौलिक, नवीन र जनआकर्षक ’राजनीतिक धागो’ के होला भन्ने हो। हेर्दै जाऔं। अहिलेका लागि सबै राजनीतिक दल र पात्रहरूलाई मुलुकको राजनीतिलाई सही दिशामा डोर्याउने सफलताको शुभकामना।