एम्स्टर्डम । निर्वासित बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभ्स्कायाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देशको प्रजातन्त्रलाई बल पुग्ने गरी प्रयास बढाउन आग्रह गरेकी छन् ।
एम्स्टर्डममा एएफपीसँगको अन्तर्वार्तामा तिखानोभ्स्कायाले ट्रम्प र भ्लादिमिर पुटिनबीच हुने भनिएको वार्ताप्रति अविश्वास प्रकट गर्दै भनिन्, “पुटिन विश्वास गर्न लायक छैनन्।”
गत महिना बेलारुसले अमेरिकी मध्यस्थतामा ५२ जना राजनीतिक बन्दीलाई रिहा गरेको थियो ।
“पक्कै पनि हामी राष्ट्रपति ट्रम्प र राजनीतिक बन्दीहरूलाई रिहा गर्ने यस मानवीय मार्गमा उनको व्यक्तिगत संलग्नताप्रति धेरै आभारी छौं,” तिखानोभ्स्कायाले भनिन् ।
उनले ‘वाशिङ्गटनले लुकाशेन्को शासनलाई ‘वैध’ बनाइरहेको छैन वा सम्बन्धलाई सामान्यीकरण नगरेको बताइन् ।
तिखानोभ्स्कायाले भनिन्, “राष्ट्रपति ट्रम्पसँग अधिक लेनदेनको दृष्टिकोण छ। उहाँलाई सफलताका कथाहरू चाहिन्छ। उहाँ धेरै क्षेत्रमा शान्ति ल्याउन चाहनुहुन्छ । पक्कै पनि, हामी यी प्रयासहरूको स्वागत गर्दछौं।“
उनले लुकाशेन्कोसँग राजनीतिक बन्दीहरूको “निरन्तर स्रोत“ रहेको चेतावनी दिँदै भनिन् कि प्रत्येक ५० जना रिहा भएकामध्ये १५० जनालाई हिरासतमा लिइन्छ।
तिखानोभ्स्कायाका अनुसार ट्रम्पले ठूलो चित्रलाई हेर्नु पर्छ, स्वतन्त्र बेलारुस बिना यस क्षेत्रमा शान्ति हुन सक्दैन।
“हाम्रो काम केवल (राजनीतिक) बन्धकहरूको बारेमा मात्र होइन। यो हाम्रो देशको सम्पूर्ण भविष्यको बारेमा हो र एक लोकतान्त्रिक बेलारुस अमेरिकाको पनि हितमा छ,” उनले भनिन् ।
लुकाशेन्कोको करिब तीन दशकको सत्तालाई राष्ट्रपति चुनावमा सामेल भई चुनौती दिएपछि तिखानोभ्स्काया सन् २०२० मा लिथुआनियामा निर्वासनमा जान बाध्य बनेका थिए ।
तिखानोभ्स्कायाका पति सर्गेई जेलमा परेपछि उनी लुकाशेन्कोको विपक्षीे नेताको रूपमा देखापरेकी छन् ।
उनले आफ्नो टोलीले अमेरिकी प्रशासनसँग निरन्तर सम्पर्क गरिरहेको बताइन् र भनिन्, “उनीहरूले हाम्रो पछाडि यी सम्झौताहरू गरिरहेका छैनन्।”