म्याड्रिड । विकिलिक्सका संस्थापक जुलियन असान्जले आफूविरुद्ध जासुसी गर्ने सुरक्षा कम्पनीका प्रमुखलाई २० वर्षको जेल सजाय सुनाउन स्पेनलाई आग्रह गरेका छन् ।
असान्जका वकिलहरूले शनिबार एक विज्ञप्ति जारी गर्दै गोप्य कुरा पत्ता लगाएको, घूसखोरी, सम्पत्ति शुद्धीकरण र अवैध हतियार राखेको आरोप लागेका डेभिड मोरालेसलाई जेल सजाय सुनाउन सुझाव दिएका हुन् ।
विकिलिक्सले अति गोप्य अमेरिकी सैन्य र कुटनीतिक सूचना प्रकाशित गरेको आरोपबारे अमेरिकी सरकारसँग सम्झौता गरेपछि गत जुनमा उच्च सुरक्षा भएको बेलायती जेलबाट असान्ज रिहा भएका थिए ।
उनले पाँच वर्ष सुपुर्दगीविरुद्ध सङ्घर्ष गर्दै बेलायती जेलमा बिताएका थिए भने अन्य सात वर्ष लन्डनमा इक्वेडरको दूतावासमा राजनीतिक शरण लिएका थिए ।
सन् २०१५ देखि २०१८ को बीचमा स्पेनी कम्पनी अन्डरकभर ग्लोबलले दूतावासको सुरक्षाको निरीक्षण गरेको थियो ।
यो स्पेनमा सुनुवाइको पर्खाइमा रहेका पूर्व सैन्य अधिकारी मोरालेसको स्वामित्वमा छ। असान्जको प्रतिवादी टोलीले सन् २०१६ मा मोरालेस र अमेरिकी अधिकारीहरूले असान्जको बारेमा सूचना प्रसारको सम्बन्धमा सम्पर्क स्थापित गरेको तर्क गरेको छ।
स्पेनको एक अदालतले मोरालेसले असान्जको बारेमा जासुसी गरेको र उनी र अन्य अधिकारीहरूबीच सम्पर्क रहेको र उनीहरूबारे ‘अवैध रूपमा प्राप्त जानकारी’ हस्तान्तरण गरेको निष्कर्ष निकालेको थियो।
न्यायाधीशले भने, ‘सन् २०१६ देखि २०१७ मा मोरालेसले नयाँ सुरक्षा क्यामेराहरू जडान गरेका र असान्जले आफ्नो प्रतिरक्षा टोली, उनका परिवारका सदस्यहरू र सार्वजनिक व्यक्तित्वहरूसँग गरेको गोप्य कुराकानीलाई रेकर्ड गरेको र यसलाई सुराकीकारूपमा प्रयोग गरेको खुल्न आएको छ।’
‘उनले अनलाइन पहुँचका लागि दुई आधिकारिक स्ट्रिमिङ च्यानलहरू खोल्ने योजना बनाएका थिए र यीमध्ये एउटा इक्वेडरका लागि र अर्को ’संयुक्त राज्य अमेरिकाका साथीहरू’का लागि जानकारी दिन प्रयोग गरिएको थियो,’ अनुसन्धानमा संलग्न न्यायाधीशले भनेका छन्।