वासिङ्टन डिसी (अमेरिका) । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता गरेका छन् ।
विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका खनालले ‘साइडलाइन’ बैठकमा राष्ट्रपति थरमनसँग भेट गरेका हुन्। भेटको अवसरमा मन्त्री खनालले नेपालमा भएको राजनीतिक विकास क्रम र आर्थिक प्राथमिकताको विषयमा छलफल भएको बताए।
उक्त भेटमा राष्ट्रपति थरमनले द्रुत गतिको आर्थिक समृद्धि हासिल गर्न पाँच मुख्य कुरामा ध्यान दिन आग्रह गरेको यहाँस्थित दूतावासले जनाएको छ । राष्ट्रपति थरमनले मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमार्फत द्रुत गतिको विकास हासिल गर्न सकिने विषयमा जोड दिएका थिए ।
यस्तै, अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)का कार्यवाहक क्षेत्रीय उपाध्यक्ष एलेन फरलेमुसँग पनि भेटवार्ता गरेका छन् ।
भेटवार्ताका अवसरमा आइएफसीसँगको साझेदारी, नेपालको निजी क्षेत्रको वृद्धिको लागि सहयोगलगायतका विविध आर्थिक विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भेटघाटको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, अर्थ मन्त्रालयका अधिकारीहरू र आइएफसीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।