काठमाडौँ । कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गरे । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको अधिकांश चलचित्रमा उनले लेखनमा सहकार्य गए । साथै छायाङकनमा समेत सहभागी भए ।
कथामा लेखिएका शब्दलाई दृश्यमा उतार्ने अभ्यासलाई उनले नजिकबाट नियाल्ने अवसर प्राप्त गरे । फलत : निर्देशक सुब्बाले लिम्बू समुदायको कथामा चलचित्र निर्माण गर्ने निर्णय गर्दै निर्देशन गर्ने हिम्मत पनि गरे । त्यसैको परिणामतः उहाँको पहिलो निर्देशकीय चलचित्र ‘जारी’ व्यावसायिक रुपमा सफल भयो ।
“मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किनकि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनेँ”, निर्देशक सुब्बाले भने ।
दोस्रो चलचित्र ‘मनसरा’ निर्देशन गरेका उनले तेस्रो चलचित्र ‘जारी २’ निर्देशन गरेका छन् । ‘जारी’ कै शृङ्खलालाई निरन्तरता दिएका निर्देशक सुब्बाले यसपटक जारीसँगै च्याब्रुङको कथालाई जोडेका छन् । त्यसो त उनले ‘जारी’ को शृङ्खलालाई अगाडि नबढाउने घोषणा गरेको थियो । तर, सोही समुदायको कथा समेटिएपछि आफ्नै अडान छोडे ।
“मैले ‘जारी’ लाई शृङ्खलाबद्ध रुपमा अगाडि नबढाउन चाहेको हो, तर च्याब्रुङको गीतको कथा आएपछि निरन्तरता दिएँ । साथीहरूसँग सल्लाह माग्दा पनि दोस्रो भाग बनाउँदा हुन्छ भन्ने सल्लाह पाएँ । म आफ्नै अडानबाट पछि हटेँ”, उनले भने ।
आगामी कात्तिक २१ गते प्रदर्शन हुने चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ मा समय बदलिए पनि उही समाज र संस्कृति छ । उही पात्र छन् तर ‘जारी’ मा देखाइएको समय भन्दा सात वर्ष बितिसकेको छ । यसका साथै पहिलो भागमा देखिएका कलाकार मध्येका एक विजय बराल दोस्रो भागसम्म आउँदा ‘पूर्णबहादुरको सारङ्गी’ का कारण आफ्नो लोकप्रियता बढाइसकेका छन् । तर, यस्ता कुराको दबाब निर्देशक सुब्बाले आफ्नो लेखनमा पर्न दिएका छैनन् ।
“अभिनेता बरालसँग सहकार्य गरेको धेरै भईसक्यो, र उहाँ पनि सरल हुनुहुन्छ । त्यसकारण मैले उहाँको लोकप्रियतालाई पात्रमा हाबी हुन दिएको छैन । मैले यसपटक पनि राम्रो र सरल चलचित्र बनाउने कोसिस गरेको छु, पहिलो भागको व्यावसायिक दबाब लिएको छैन । मैले आफूमा लेखक र निर्देशकलाई मात्र हावी हुन् दिएँ । त्यहाँ निर्माताको केही चलेन”, निर्देशक सुब्बाले भने ।
आगामी दिनमा उनी ‘जारी’ नाम राखेर शृङ्खलालाई अगाडि नबढाउने सोचमा छन्, तर नबनाउने भनेर घोषणा गर्न सकिसकेका छैनन् । किनकि सोही नाममा चलचित्र आउँदा त्यसले लोकप्रियतासँगै व्यावसयिक लाभ पनि प्राप्त गर्छ । तर, यस्ता कार्यले सर्जकको सिर्जनामा भने ह्रास ल्याउने उनको बुझाइ छ ।
“हामीले नयाँ सिर्जना गर्न सकेनौँ भने वा एउटै सिर्जनालाई तन्काउँदै लग्यौँ भने त्यसले अल्छी बनाउँछ । सर्जक अल्छी भयो भने त्यसको असर सिर्जनामा पर्छ । त्यस्तो हुन् नदिन मैले सक्दो मेहनत गरेको छु । यसअघिका सफलता बिर्सेर नयाँले झैँ काम गरेको छु, किनकि मेहनतले नै सफलताको नजिक पु-याउँछ”, उनले भने ।
निर्देशक सुब्बा चलचित्र लेखनसँगै साहित्यतर्फ पनि प्रसिद्ध छन् । एक हिसाबले उनी साहित्य र चलचित्रको पुल जस्तै छन् । साहित्यकारले हेर्दा चलचित्रलाई कस्तो देख्छ त ? उनले दुवै तर्फको भनाई बुझेर आफ्नो भाष्य बनाएका छन् । “साहित्यको आँखाले चलचित्र हेर्दा समाजको कथा व्यक्त गर्ने शैली र पात्र निर्माणसँगै विम्ब निकै कम प्रयोग भएको जस्तो लाग्छ”, उनले भने, “यद्यपि थुप्रै साहित्यकारले चलचित्र हेर्ने गरेका छन् । तसर्थ साहित्यमा चलचित्रको प्रभाव छ, तर चलचित्रमा साहित्य कमजोर छ ।”
उनको आगामी चलचित्रमा दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुलगायतका कलाकारले अभिनय गरेका छन् ।