काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको उपाधि नेपालले जितेको छ । शुक्रबार बेलुकी सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १ सय २४ रनले हराउँदै नेपालले अपराजित रहँदै उपाधि जितेको हो ।
जितको लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको सामोआले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो । सामोआको लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए । उनले ३७ बलमा २ चौका र एक छक्का प्रहार गरे । यस्तै बेन्जामिन माइलाताले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि ललित राजवंशीले ४ ओभरमा एक मेडन राख्दै १३ रन दिएर तीन विकेट लिए । सन्दीप लामिछाने, करण केसी र रोहित पौडेलको नाममा एक/एक विकेट रह्यो ।
त्यसअघि अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो । नेपालको लागि आसिफ शेख र दीपेन्द्र सिंह एरीले अर्धसतक पूरा गर्दा लोकेश बमले विस्फोटक फिनिसिङ गरे । ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ६९ रन बनाए । यस्तै दीपेन्द्र सिंह एरीले ३३ बलमा ४ छक्का र दुई चौकाको मद्दतमा ५३ रन बनाउँदा लोकेश बमले नटआउट ३९ रन बनाए । उनले १२ बलमा ४ छक्का र २ चौका प्रहार गरे । कप्तान रोहित पौडेलले नटआउट २१, कुशल भुर्तेलले १७ र आरिफ शेखले ९ रनको योगदान गरे ।
सामोआको लागि डानियल बुर्गेस, साउमानी टाई, डारिउस भिसेर र मोअह मेडले समान एक/एक विकेट लिए ।
जितसँगै नेपालले ५ खेलबाट १० अंक जोड्दै सुपर सिक्सको शीर्ष स्थानमा रहेर उपाधि जितेको हो । सुपर सिक्सको सबै पाँच खेलमा पराजित सामोआले पुछारमा रहँदै छनोटको अन्त्य गरेको छ । यस छनोटबाट नेपालसँगै ओमान र युएईले आगामी वर्ष फेब्रअरी-मार्चमा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाएका छन् ।